धरानः धरानका कन्सल्टेन्सी सञ्चालक पक्राउ परेका छन् ।
नक्कली परीक्षार्थीलाई एसईई दिन लगाउने सञ्चालकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । ४० हजार रुपैयाँसम्म लिएर नक्कली परीक्षार्थी लगाएर परीक्षा दिन लगाउने गरेको आरोपमा धरानको डल्फिन पूर्वाञ्चल एकेडेमीका सञ्चालक सन्तोष राई पक्राउ परेका छन् । अन्य पक्राउ पर्नेमा प्यासिफिक कन्सल्टेन्सीका सञ्चालक ललिता आङ्बोहाङ, युनिक कन्सल्टेन्सीका छत्र तामाङ, लालीगुराँस कन्सेल्टेन्सीका सोनाम रिजाल, टेरेसा एकेडेमीका सञ्चालक विवेक आले मगर रहेको प्रहरीले जनाएको छ ।
एसईई दिने क्रममा मोरङबाट पक्राउ परेका २ सय जना नक्कली परीक्षार्थीहरूबाट यो पोल खुलेको हो ।
प्रहरीका अनुसार मोरङमा मात्रै चैत २२ र २३ गते कुल २ सय १ नक्कली परीक्षार्थी पक्राउ परेका छन् । पक्राउ पर्नेमा अधिकांश परीक्षार्थी धरान र बेलबारीका छन्। धरानबाट अधिकांश कसल्टेन्सीले विद्यार्थी भर्ना गर्ने र रकम लिएर नक्कली परीक्षार्थीलाई परीक्षा दिन लगाउने गर्दै आएका थिए ।
अर्काको नाममा परीक्षा दिन आएका केराबारी गाउँपालिकास्थित सार्वजनिक मावि परीक्षा केन्द्रबाट सबैभन्दा बढी १ सय २७ जना नक्कली परीक्षार्थी पक्राउ परेका थिए । झोराहाटस्थित सरस्वती मावि केन्द्रबाट ५२ जना र सुन्दरहरैंचाको जनता मावि केन्द्रबाट २० जना पक्राउ परेका थिए।