प्रत्येक कक्षा प्रथम विद्यार्थीलाई पूर्ण छात्रवृत्तिः प्रिन्सिपल चेम्जोङ (४३ तस्वीर र भिडियो समाचारसहित)
धरानः धरान-१ स्थित धरानको पुरानो स्कुल युरेका आवासीय माध्यमिक विद्यालयको २९ औं वार्षिकोत्सव, पुरस्कार वितरण तथा नतिजा प्रकाशन कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालयको प्राङ्गणमा भएको कार्यक्रममा विद्यार्थी, शिक्षकलगायतलाई पुरस्कार वितरण गरिनुका साथै नतिजा प्रकाशन समेत गरिएको थियो । धरान उपमहानगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष यज्ञमणि आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम विद्यालयका अध्यक्ष चन्द्रदीप लामाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
१०० प्रतिशत उपइिस्थत विद्यार्थी र शिक्षकहरुलाई सम्मान गरिएको थियो भने वार्षिक परीक्षा र वर्षभरी भएका विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा विद्यालयमा १० वर्षदेखि निरन्तर अध्यापन गरी योगदान पुरयाउने शिक्षकहरु विश्वबन्धु पोख्रेल, भुवन सञ्जेल, धनकुमारी लिम्बू, खेमनाथ पौडेल र कर्मचारी कमल कार्कीलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।
यस्तै, २०५७ सालमा एसएलसी दिएकी पूर्व विद्यार्थी पुनम राईलाई पनि विशेष सम्मान गरिएको थियो । यस्तै, बंगलादेशमा भएको कराँते विधामा अन्तराष्ट्रिय च्याम्पियन (२०२२) मा दोस्रो बन्न सफल नुदेन राई, धरान उपमहानगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डमा ४७ केजीतर्फबाट प्रथम बन्न सफल सोनाल ताम्राकारलाई पनि विशेष सम्मान गरियो ।
कार्यक्रममा वेष्ट स्पेलर विद्यार्थी निलम तामाङ, वेष्ट क्वीजर समय बस्नेत, वेष्ट क्रिकेटर कक्षा–८ का अंश अग्रवाल, वेष्ट स्पिकर आर्जु लामिछाने, रिसव चौधरी, फुटबलर विपास तामाङ, वेष्ट हेण्डराइटिङ इशान क्षेत्री, बास्केटबलर श्रीमन तामाङ, स्यफ्रिन दाहाल, भलिबलर मनिष राई, सलोती शाहलाई पनि सम्मान गरिएको थियो ।
यस्तै, स्टुडेण्ट अफ दि इयरमा जुनियरतर्फ निलम तामाङ र सिनियरतर्फ मनिषा चौधरी घोषित हुँदै पुरस्कृत भएका थिए । यस्तै, मष्ट डिसिप्लिन अफ दि इयर घोषित हुँदै मानसी खतिवडा र सिम्रन लिम्बू पुरस्कृत बने ।
कार्यक्रममा प्रत्येक कक्षामा प्रथम हुने विद्यार्थी पूर्ण छात्रवृत्ति पनि प्रदान गरिएको थियो । विद्यालयका प्रिन्सिपल कुरन चेम्जोङले वार्षिक गतिविधिहरु प्रस्तुत गर्नुका साथै विद्यालयको भावी योजनाको बारे प्रष्टयाएका थिए । विद्यालयका निर्देशक दुर्गा सुवेदीले युरेका युरेका नै भएको बताउँदै गुणस्तरीय शिक्षा प्रदान गर्न तल्लिन नै रहेको बताए ।
कार्यक्रममा विद्यार्थीहरुले आकर्षक नृत्य, गीत, कराँते, राइम्सलगायत प्रतिभाहरु देखाएर अभिभावकलाई दङ्ग तुल्याएका थिए । कार्यक्रमको सञ्चालन अध्यापक पर्शुराम खतिवडाले गरेका थिए । तस्वीरहरुः हाम्रो कोशी आवाज











































