धरानः धरानकी एक महिला ५० जनालाई ठगेको आरोपमा पक्राउ परेकी छिन् ।
धरान उपमहानगरपालिका-१७ कि ३५ वर्षीया जुनुकला राईलाई प्रहरीले पक्राउ गरेको हो । ५० जना व्यक्तिलाई ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
राईबाट पीडित भएको भन्दै परिसरमा १४ जनाले लिखित र ३६ जनाले मौखिक जाहेरी दिएका थिए । उनले ५० जना युवायुवतीलाई विदेश भ्रमणमा पठाउने भन्दै ११ हजार ३ सय देखि ५ लाख रुपैयाँसम्म लिएर ठगी गरेको पाइएको छ । यसरी उनले ५० जना व्यक्तिबाट ५० लाख भन्दा बढी रकम ठगी गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता सीताराम रिजालले जानकारी दिए ।
उनले विभिन्न नेपाली सामानहरू उत्पादन तथा बिक्री वितरण गर्ने भनेर स्वीकृति लिएर कम्पनी खोलेको र युवायुवतीलाई वैदेशिक भ्रमण तथा राम्रो ब्याजमा दिने भन्दै रकम लिएर ठगी गरेको पाइएको प्रहरीले जनाएको छ ।
५ लाख रुपैयाँ तिरेर उक्त कम्पनीको सदस्यता समेत लिन लगाउने र ४ जना सदस्य बनाउन सकेमा लगानी रकम फिर्ता हुने तर, सदस्य बनाउन नसकेको अवस्थामा कम्पनीबाट उत्पादन भएका बिना गुणस्तरका सामग्रीहरू महँगो मूल्यमा दिएर रकम चुक्ता गराउने गरेको पाइएको प्रहरीले जनाएको छ ।
राईले काठमाडौं चाबहिलस्थित गंगाहिटीमा भिजन ड्रिमरी प्रालि अफिस खोलेर ठगी धन्दा चलाएको प्रहरीले जनाएको छ । पक्राउ परेकी राईविरुद्ध ठगी सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
