धरानः धरान–५ देउरालीस्थित डिपी विलिभर्स इङ्लीस स्कुलको वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिका वडा नम्बर ५ का वडा सदस्य विजय दुमी राई थिए । कार्यक्रममा वार्षिक परीक्षा र वर्षभरी भएका विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार तथा प्रमाण–पत्र वितरण गरिएको थियो ।
पुरस्कृत विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि वडा सदस्य विजय राई, स्कुलका प्रिन्सिपल सन्जीप बान्तवा राई, अतिथी गोविन्द राई लगायतले पुरस्कार वितरण गरे । विद्यालयका प्रिन्सिपल बान्तवाले वार्षिक गतिविधिहरु प्रस्तुत गर्नुका साथै विद्यालयको भावी योजनाको बारेमा जानकारी गराए ।
आगामी दिनमा कक्षा–१२ सम्म पठनपाठन थालिने लक्ष्य लिइएको बताउँदै उनले म्याथ ल्याबसहित सुविधा सम्पन्न विद्यालय बनाइने प्रिन्सिपल बान्तवाले स्पष्ट पारे । कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर –५ का वडा सदस्य विजय राईले स्कुलले अध्ययन अध्यापन लगायत अतिरिक्त क्रियाकलापमा राम्रो गरिरहेको बताउँदै कुनै सहयोगको आवश्यकता परेमा वडाको तर्फबाट सकेको सहयोग गरिने बताए ।
बिद्यार्थीहरुले आकर्षक नृत्य, गीत, राइम्सलगायत प्रस्तुत गरी अभिभावकहरुलाई मनोरञ्जन प्रदान गरे । कार्यक्रमका नेपाल पत्रकार महासंघका सहसचिवद्वय तिर्थ कार्की र भोला श्रेष्ठको समेत उपस्थिति थियो । रचना लिङ्देनले स्वागत मन्तब्य राखेको कार्यक्रमको सञ्चालन वीरेन्द्र लिम्बूले गरे ।



