Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा एसईई दिएका विद्यार्थी प्रतिभा देखाउँदै

हाम्रो कोशी आवाज
बैशाख ३ २०८०, आइतबार
धरानमा एसईई दिएका विद्यार्थी प्रतिभा देखाउँदै

एसईई सिङगीङ आइडल र डान्सिङ स्टारको पहिलो अडिसनबाट ८६ जना छनोट

धरानः शिक्षाका लागि सङ्गीत भन्ने मूल नाराका साथ शनिबार धरानमा भएको वाईवाई एसईई सिङ्गीङ आइडल सिजन–३ र डान्सिङ स्टार सिजन–२ को पहिलो अडिसनबाट ८६ प्रतियोगी छनोट भएका छन् ।
फक्ताङलुङ मिडिया हाउस प्रालिद्वारा सञ्चालित एफटिएल अनलाइन टिभीको आयोजनामा भएको प्रतियोगितामा सिङ्गीङतर्फ ८७ सहभागीमध्ये ५२ जना दोश्रो चरणका लागि छनोट भए । त्यस्तै, डान्सिङतर्फ ५८ सहभागीमध्ये ३४ जना छनोट भएका छन् । भौतिकरुपमा उपस्थित हुन नसक्ने र टाढाका सहभागीहरुका लागि डिजिटल अडिसनको ब्यवस्था गरिएको प्रालिका अध्यक्ष डम्बरकुमार तुम्बापोले जानकारी दिए ।
दोश्रो चरणको अडिसन आगामी बैशाख–१६ गते धरान–१६ अन्नपूर्ण चोकस्थित युएन सेमिनार हलमा हुने प्रालिका अध्यक्ष तुम्बापोले जानकारी दिए । उनले भने, ‘नजिक भएर पनि अडिसनमा आउन नभ्याउने र टाढाका सहभागीका लागि डिजिटल अडिसन लिँदैछौं । हाम्रो फेसबुक पेजमा प्रतियोगीहरुका गीत र नृत्य आइरहेका छन् । हामी बैशाख– १४ गतेसम्म डिजिटल अडिसन लिन्छौं ।’
एसईई दिइसकेपछि विद्यार्थीहरुको खाली समयको सदुपयोग गर्दै उनीहरुमा रहेको अन्तरनिहीत प्रतिभालाई प्रष्फुटन गराउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको इभेन्ट निर्देशक रामबहादुर लिम्बूले बताए । सिङ्गीङतर्फको निर्णायकहरुमा भ्वाइस अफ नेपाल सिजन–२ का फाइनलिस्ट एवम् गायक विकास लिम्बू, सङ्गीत प्रशिक्षक बिनायक राई र गायिका जमुना राई थिए ।
सिङ्गीङतर्फ एसईई सिङ्गीङ आइडल सिजन–२ का बिजेता छिरिङ तामाङले सहायक निर्णायकको भूमिका निर्वाह गरे । त्यस्तै, डान्सिङतर्फको निर्णायकहरुमा डान्स कोरियोग्राफर रेस्मा राई र एसईई डान्सिङ स्टार सिजन–१ कि बिजेता नुमा लिम्बू थिए । २०७५ सालबाट शुरु भएको यो प्रतियोगिता २०७६ र ०७७ सालमा भने विश्वव्यापी महामारी कोभिड–१९ का कारण स्थगित भएको थियो ।
एसईई सिङ्गीङ आइडल सिजन–१ को बिजेता तरहराको हिमशिखर बोर्डिङ स्कुलका गौरव राई भएका थिए । एसईई सिङ्गीङ आइडल सिजन–३ र डान्सिङ स्टार सिजन–२ दुवैतर्फका बिजेताले ५० हजार नगद, प्लस टु अध्ययनका लागि पूर्ण छात्रवृत्तिलगायत आकर्षक पुरस्कार प्राप्त गर्नेछन् । दुवैतर्फका फष्ट रनर अपले नगद ३० हजारसहित प्लस टु अध्ययनका लागि ८० प्रतिशत छात्रवृत्ति प्राप्त गर्नेछन् ।
त्यस्तै, सेकेण्ड रनर अपले नगद २० हजारसहित प्लस टु अध्ययनका लागि ७० प्रतिशत छात्रवृत्ति प्राप्त गर्ने आयोजकले जनाएको छ । संघीय राजधानीस्थित काठमाण्डौ मोडल कलेज र धरानस्थित युएन नवोदय कलेज यस प्रतियोगिताका एजुकेसनल पार्टनर रहेका छन् । प्रतियोगिताका अफिसिय होस्ट मोडल एवम कोरियोग्राफर मेरिना तुम्सा लिम्बू रहेकी छिन् ।

प्रकाशित मिति: बैशाख ३ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend