धरानः धरान-१८ स्थित डिपोट स्कुल शिक्षा क्षेत्रमा चिरपरिचित नाम हो । लाहुरेले चलाएको विद्यालय अहिले स्थापित छ मात्रै छैन शैक्षिक क्षेत्रमा उदाहरणीय पनि बन्दै गएको छ । ०३० सालदेखि डिपोट विद्यालय हुँदै हाल डिपो उच्च मावि अर्थात् ‘ब्याचलर लेवल’ सम्मको अध्ययन अध्यापन हुने गरेको छ । प्राचार्य राजकुमार राईका अनुसार डिपोट अहिलेको यात्रामा विश्वविद्यालय भइसकेको छ । विद्यालयसँग भएको १३ बिगाहा १० कठ्ठा ६ धुर जग्गा भएकोले विश्वविद्यालयको लागि उपयुक्त नै छ ।
घोपा क्याम्पभित्र बज्ने विगुलको मधूरो आवाज र गोर्खा सैनिकहरुको लेफ्ट राइट लेफ्टसँग साइनो जोडेर यो विद्यालय स्थापना भएको हो । हाल विद्यालयको संरचना, पढाइको गुणस्तरीयता, अतिरिक्त क्रियाकलापमा अब्बलताले विद्यालयले अझै गति लिँदै गएको छ । ‘प्रसस्तमात्रामा जमिन, भौतिक संरचना, अतिरिक्त क्रियाकलाप र अनुभवी शिक्षकको सङ्गम भएकोले डिपोटले शैक्षिक गुणस्तर पनि कायम राखिराखेको छ,’ प्राचार्य राईले भने, ‘आजसम्मको यो प्राप्ति शिक्षक, अभिभावक र विद्यार्थीको संयुक्त प्रयास नै हो ।’
उनले अभिभावकले समेत पत्याउने स्कुल बनेको बताए । ‘लामो समय यही विद्यालयमै काम गर्ने प्रिन्सिपल, शिक्षककै कारण विद्यालय फस्टाएर मात्रै गएन गुणस्तरीय शिक्षा प्रदान गरेर अभिभावकले पत्याउने स्कुल बनाएका छौं’, प्रिन्सिपल राई भन्छन्, ‘यही कारण हामी लामो समयसम्म गुणस्तरीय शिक्षा दिँदै टिकिरहेका छौं ।’
एसएलसी वा एसइईमा सहभागी यतिका ब्याचसम्मका विद्यार्थीले उत्कृष्ट नतिजा निकालेको विद्यालयमा शिक्षक–शिक्षिका, अभिभावक, कर्मचारी, व्यवस्थापन समिति, शुभचिन्तककै कारण विद्यालयले प्रगति गरेको उनी बताउँछन् ।
‘हालसम्म डिष्टिङ्शनसहित शत प्रतिशत नतिजा निकाल्दै आएका छौं’, प्रिन्सिपल राईले भने । हाल यहाँ अध्ययन गर्ने विद्यार्थीमध्ये कोही इन्जिनियर, कोही डाक्टर, कोही प्राध्यापक बनेर निस्किसकेका छन् । उनका अनुसार यहाँ उत्पादित विद्यार्थी चारैतिर फैलिएर प्रगति गरेको देख्दा स्कुलका लागि त्यो भन्दा ठूलो गौरवको विषय अरू केही छैन ।
दक्ष शिक्षक–शिक्षिका, कम्प्युटर ल्याब, बस, साइन्स ल्याब, लाइब्रेरी, मन्टेश्वरी बेसमा अध्ययन अध्यापन विद्यालयका विशेषता तथा सुविधाहरू हुन् । विद्यालयले गुणस्तरीय शिक्षाका साथै अतिरिक्त क्रियाकलापमा विशेष जोड दिँदै आएको उनी बताउँछन् । ‘क्वीज, बास्केटबल, भलिबल, चित्रकला, वादविवाद, गायन, नृत्य, तेक्वान्दो कक्षाको पनि व्यवस्था गरेका छौं ।’ उनले भने ।
उनले विद्यालय, स्थानीय साथै अन्य जिल्लास्तरीय कार्यक्रममा पनि विद्यार्थीले सहभागिता जनाउँदै पुरस्कार समेत हात पार्दै आएको उनले बताए । विद्यालय अन्तर विद्यालयस्तरीय, राष्ट्रिय, क्षेत्रीय, जिल्ला र नगरमा विविध अतिरिक्त क्रियाकलापमा अगाडि देखिँदै आएको छ । यसैगरी विद्यालय आफैले सञ्चालन गरेको ललित–अमर डिपो कपको आफै विजेता पनि बनेका छन् । बास्केटबल प्रतियोगितामा त डिपोट अब्बल नै छ । यी बाहेक कराँते, एथलेटिक्स, टेबलटेनिस, भलिबल र नृत्यका लागि पनि विद्यालयले शिक्षक नियुक्ति गरेर पढाई र अतिरिक्त क्रियाकलाप एकसाथ लगिरहेको छ । नगरस्तरीय मेयर स्कुल ओलम्पिकमा त डिपोट वर्षेनी च्याम्पियन बन्दै आएको छ ।














