धरानः धरान-१२ स्थित एम्स एकेडेमीले आयोजना गरेको एम्स आइडल सिजन-६ को उपाधि नृत्यतर्फ पुष्पा विश्वकर्मा र गायनतर्फ सुपिल उदासले हात पारेका छन् ।
शनिबार धरान-१५ स्थित शिक्षा सदन स्कुलको सदनसभा हलमा आयोजित प्रतियोगितामा नृत्यतर्फ अनिसा मगर र सुवज्ञा बस्नेत क्रमशः फष्ट रनरअप र सेकेन्ड रनरअप घोषित भए । त्यस्तै, गायनतर्फ प्रनोज राई र प्रतिज्ञा शाक्य क्रमशः फष्टरनर अप र सेकेन्ड रनरअप घोषित भए ।
यसअघि कलेजमा लिइएको दुवै विधाको अडिसनमा २६ जना विद्यार्थीहरु सहभागी भएको कलेजका संयोजक हेमन्त भण्डारीले जानकारी दिए । प्रतियोगीताका निर्णायकहरुमा सङ्गीत प्रशिक्षक विनोद प्रियदर्शी राई, नाजु सुवेदी र प्रविन भुजेल रहेका थिए । बिजेताहरुलाई एकेडेमीका अध्यक्ष प्रकाश राई, प्रिन्सिपल मित्र तामाङ, म्यानेजमेन्ट कोअर्डिनेट दुर्गा सुवेदी, निर्देशक अनुप तामाङ, सञ्चालक नवीन राईलगायतले मेडल र ट्रफी प्रदान गरे ।
कार्यक्रमका प्रमुख अतिथि हिसानका केन्द्रीय सदस्य मुकुन्द घिमिरेले कक्षा-१२ को परीक्षा दिने विद्यार्थीहरुलाई सफलताको शुभकामना ब्यक्त गरे । उच्च शिक्षाको अध्ययनका लागि विदेश गएपनि अध्ययन पूरा गरेपछि स्वदेशमै फर्केर राष्ट्रको सेवा गर्न प्रमुख अतिथि घिमिरेले विद्यार्थीहरुलाई आह्वान गरे ।
अर्का अतिथि हिसान सुनसरीका अध्यक्ष सागर भट्टराईले मिहिनेतपूर्वक अध्ययन गरेर परीक्षामा उच्च अङ्क ल्याएर उत्तीर्ण गर्न विद्यार्थीहरुलाई शुभकामना दिए । म्यानेजमेन्ट कोअर्डिनेटर सुवेदीले सफल शैक्षिक यात्राको लागि विद्यार्थीहरुलाई शुभकामना दिए ।

कलेजले लिएको आन्तरिक परीक्षाको अनुभवबाट आगामी बोर्ड परीक्षामा उत्कृष्ट जिपिए ल्याएर उत्तीर्ण हुन विद्यार्थीहरुलाई शुभकामना दिए । उनले भने, ‘हामीले कलेजमा रहँदा कहिलेकाही गाली गरे पनि विद्यार्थीको सुन्दर भविष्यका लागि हो, हामी हाम्रा विद्यार्थीले सधैं प्रगति गरेको हेर्न चाहन्छौं ।’ प्रिन्सिपल मित्र तामाङले कडा मिहिनेतका साथ अध्ययन गरी उत्कृष्ट नतिजा ल्याएर कलेजको नाम उच्च राख्न विद्यार्थीहरुलाई शुभकामना दिए । कार्यक्रममा कलेजका अध्यापक एवम् शेयर सदस्य सन्तोष कोइराला, सुवास पौडेल, बुद्रोस लिम्बू, बिदुर महत, अध्यापक सूर्य अधिकारी, सन्जीव उदासलगायतको उपस्थिति थियो ।
एम्स एकेडेमीमा कक्षा–१२ को अध्ययन पूरा गरेर बोर्ड परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरुलाई कक्षा–११ का विद्यार्थीहरुले बिदाइ गरेका छन् । कलेजका प्रिन्सिपल मित्र तामाङ, अध्यक्ष प्रकाश राई, ब्यवस्थापन संयोजक दुर्गा सुवेदीलगायतले कक्षा–१२ का विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरी अविर र खदा लगाएर बिदाइ गरे ।
कार्यक्रममा विद्यार्थीहरुले आकर्षक गीत र नृत्य समेत प्रस्तुत गरे । कार्यक्रमको सञ्चालन कलेजका शेयर सदस्य युवराज अधिकारी, विद्यार्थीहरु एशिका कार्की र अनमोल तामाङले गरेका थिए ।


