धरानः धरान बास्केटबल संघको आयोजना, सुनसरी बास्केटबल संघको प्राविधिक तथा धरान उपमहानगरपालिकाको संयोजनमा शनिबारदेखि आठौं बास्केटबल ट्यालेन्ट हन्ट तथा ट्रेनिङ क्याम्प शुरु भएको छ ।
भर्खरै एसईई दिएर बसेका विद्यार्थी तथा बास्केटबल खेल्न इच्छुकहरुलाइ लक्षित गरी आयोजित ट्यालेन्ट हन्टमा धरानभरिका विभिन्न स्कुल तथा कलेजबाट करिब ५० जना विद्यार्थीहरुले सहभागिता जनाएको छ ।
ट्यालेन्ट हन्ट तीन हप्तासम्म चल्नेछ । एसईई दिएर बसेकाहरुलाई भने विद्यार्थीको क्षमताअनुसार रिजल्ट नआइन्जेलसम्म संघले निरन्तर प्रशिक्षण दिने सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदीले जानकारी गराए । ट्यालेन्ट हन्टमा सहभागी जनाएका उत्कृष्ट विद्यार्थीलाई विद्यार्थीको इच्छाअनुसार धरानको विभिन्न कलेजमा छात्रवृत्तिका लागि सिफारिस गरिने समेत अध्यक्ष सुवेदीले जानकारी दिए । संघले अहिलेसम्म सय भन्दा बढी विद्यार्थीहरुलाई छात्रवृत्तिमा सिफारिस गरिसकेको छ ।
धरान–१६ मा रहेको धरान रंगशालास्थित इन्डोर बास्केटबल कोर्टमा सम्पन्न क्याम्पको उदघाटन संघका अध्यक्ष नारायण सुवेदीद्वारा प्रशिक्षकहरुलाई बल प्रदान गरेर गरेका थिए । उद्घाटन कार्यक्रममा धरान–१८ स्थित कार्मेल हाइस्कुलका तर्फबाट ट्यालेन्ट हन्ट कार्यक्रमलाई नगद ५ हजार रुपैयाँ सहयोग गरेका छन् । सहयोग रकम स्कुलका सञ्चालक दोरचु शेर्पाले संघका अध्यक्ष नारायण सुवेदीलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा युवा नेता एव अग्रज पत्रकार भिमज्वाला राई, धरान बास्केटबल संघका कोषाध्यक्ष गौरवमान श्रेष्ठ, धरान १९ नं. वडा सदस्य लोकेन्द्र राईलगायतको उपस्थिति रहेको थियो ।
ट्यालेन्ट हन्टमा सहभागीहरुलाई राष्ट्रिय प्रशिक्षक विकास चाम्लिङ राई र उनका सहयोगीहरु प्रदेश १ बास्केटबल टिम क्याप्टेन विवेक श्रेष्ठ, राष्ट्रिय खेलाडी डा. आशा राई, युगल लिम्बू, दिवस राई, सुशन श्रेष्ठलगायतले प्रशिक्षण दिनेछ । प्रशिक्षण बिहान ६ बजेदेखि ८ बजेसम्म चल्नेछ ।