किरातेश्वर स्कुलका शिक्षकको एकदिनको तलब सहयोग
धरानः धरान-१५ स्थित के.के.इन्टरनेशनल स्कुलले कोकाहा–धरान खानेपानी योजनाका लागि ५० हजार रुपैयाँ बराबरको पाइप सहयोग गरेको छ ।
धरान-१८ स्थित बुद्धचोकमा शिक्षक टेकबहादुर बस्नेतको नेतृत्वमा गएको टोलीले मेयर हर्क साम्पाङलाई ७ वटा पाइप हस्तान्तरण गरेको छ । बिदाको दिन भएपनि आएर पाइप हस्तान्तरण गरी सामाजिक कार्यमा सहभागी हुन पाउँदा खुशी लागेको शिक्षक बस्नेतले बताए ।
सामाजिक दायित्वअन्तर्गत खानेपानी ल्याएर धराने जनतालाई खुवाउनेजस्तो पवित्र कामका लागि यति भए पनि सहयोग गरेको स्कुलका निर्देशक प्रविन अग्रवालले बताए । उनले भने, ‘अरुले पनि राम्रो कामको अनुशरण गरून् र हाम्रो तर्फबाट पनि केही सहयोग पुगोस् भन्ने उद्देश्य हो ।’ स्कुलले अन्य सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको निर्देशक अग्रवालले बताए ।
धरान-१९ स्थित किरातेश्वर माविले २२ हजार ५०० बराबरको ३ वटा पाईप सहयोग गरेको छ । विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीको १ दिन बराबरको तलब जम्मा गरेर सहयोग गरिएको प्रधानाध्यापक डा.योगेन्द्र पालुङवाले बताए ।