धरानः सुनसरीका दुई उपमहानगरपालिकाबीचको सीमा विवाद उत्कर्षमा पुगेको छ ।
धरानका मेयर हर्कराज राईले सीमाना तरहरासम्म रहेको बोर्ड राखेपछि विवाद उत्कृर्षमा पुगेको हो । इटहरी–२० मा पर्ने पानीपिया क्षेत्रमा आफ्नो इलाका परेको दाबी गर्दै धरानका मेयर साम्पाङले ‘सीमा प्रारम्भ’ को बोर्ड लगाउन निर्देशन दिएपछि सो बोर्ड युवा संघ इटहरीले उखेलेर फालिदिएको थियो ।
यसैबीच बोर्ड हटाएको घटनाप्रति वाइसीएलले चासो देखाएको छ । वाइसीएल धरान नगर समितिले एक विज्ञप्ति जारी गरी स्थानीय तहबीचको सीमाना विवाद संवाद, समन्वय र छलफलबाट कानुन बमोजिम समाधान खोजिनुपर्ने जनाइएको छ ।
अध्यक्ष दीपक तामाङद्वारा जारी विज्ञप्तिमा धरान नगर सरकारले सीमासम्बन्धी चालेका कदमहरुको अवमूल्यन हुने गरी पार्टीको भातृ संगठनले अराजक ढङ्गले सीमा प्रारम्भ बोर्ड हटाउनु आपत्तिजनक रहेको समेत जनाइएको छ । वाइसीएलले दुई तहका सरकारबीचको संवादले यो समस्या समाधान गरिनुपर्ने समेत जनाएको छ ।
उता धरान उपमहानगरपालिकाका योजना तथा इञ्जिनियरीङ महाशाखा प्रमुख एवं वरिष्ठ इञ्जिनियर सुरज श्रेष्ठले धरानको आधिकारिक सीमाना पानीपिया क्षेत्र नै भएको बताएका छन् ।
साविक हाँसपोसा गाविसको कृषि फाराम उत्तरतिर शान्तिनगर जाने बाटोभन्दा ३३२ मिटर उत्तरदेखि धरानको सिमाना शुरु हुने श्रेष्ठले बताए । त्यस ठाउँबाट २.९५ किलोमिटर उत्तारसम्म राजमार्गको पश्चिमपट्टी धरान र पूर्वपट्टि इटहरी पर्छ । त्यस स्थानपछिको उत्तरतर्फ राजमार्गको दुबै पट्टि धरान पर्ने उनले बताए । उक्त स्थानबाट सेउती खोलाको पूल २.४१ किलोमिटर अझै उत्तरपट्टि पर्छ । ‘यो गुगल म्यापले मात्र होईन नेपाल सरकारको नापी विभागबाट जारी भई नेपालभरि प्रयोग गरिने नक्सा हो,’ श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,’यसैको आधारमा धरानको क्षेत्रफल १९२.३२ वर्ग किलोमिटर र ईटहरीको क्षेत्रफल ९३.७८ वर्ग किलोमिटर नेपाल सरकारले कायम गरिदिएको हो ।’
तरहराको पानीपिया सुरु हुनासाथै ‘स्थानीय सरकार, धरान उपमहानगरपालिका, सीमा प्रारम्भ’लेखिएको बोर्ड लगाइएको थियो । मेयर साम्पाङले भने बोर्ड निकाल्न नहुने बताएका छन् । उनले भनेका छन्–धरानले आफ्नो साँध सिमाना सुनिश्चित गर्दा युवा संघ तरहराले बोर्ड निकाल्नुपर्ने किन र कुन हैसियतले त्यो गरेको हो ? अब कानुनी करवाही अघि बढ्छ !
