धरानः धरान–१० स्थित प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजमा दीक्षान्त समारोह तथा विदाइ कार्यक्रम सम्पन्न भएको छ ।
विगत पाँच वर्षदेखि धरानमा म्यानेजमेन्ट र हस्पिटालिटी म्यानेजमेन्ट अध्यापन गराइरहेको कलेजको कार्यक्रममा अन्तर्राष्ट्रिय सम्बन्धन प्राप्त एड्भान्स डिप्लोमा इन हस्पिटालिटी म्यानेजमेन्ट अध्ययन सम्पन्न गरेका छात्र तथा छात्राहरुलाई दीक्षित गरिएको थियो । त्यस्तै, कक्षा–१२ मा अध्ययनरत र एड्भान्स डिप्लोमा कोर्ष सकेका विद्यार्थीका लागि विदाइ कार्यक्रमको पनि आयोजना गरिएको थियो । कार्यक्रममा विद्यार्थीका अभिभावकहरूको पनि उल्लासमय उपस्थिति रहेको थियो ।
दीक्षान्त समारोहमा धरान उपमहानगरपालिकाका उपप्रमुख आइन्द्रविक्रम बेघा र धरान उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख गणेशप्रसाद खतिवडाले विद्यार्थीलाई दीक्षान्तको प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा एलसीसीआई ग्लोबल क्वालिफिकेसन र एसक्यूएद्वारा प्रदान गरिने स्टुडेन्ट एम्बेसेडर अवार्ड जित्न सफल ह कलेजका २ विद्यार्थीलाई पनि सम्मान गरिएको थियो । सम्मानित हुनेमा पेमदिकी तामाङ र सन्देश पाल्पाली रहेका थिए । उनीहरु लाई जनही नगद १० हजार, प्रमाण पत्र र एसक्यूए एम्बेसेडर लेभल पिन प्रदान गरिएको थियो ।
त्यस्तै, अन्य विद्यार्थीलाई पनि विभिन्न विधाबाट पुरस्कृत गरिएको थियो । एफएण्डबि सर्भिस प्रतियोगितामा दोस्रो भएका दीपा राई, सविन लिम्बू, मौसम कार्की, निर्निमेष गुरुङ र पहिलो भएका आरजु राई, निर्जल भट्टराई, आइषा लिम्बू र सुजल तामाङलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो । बेस्ट ग्रुमिङ (छात्र) तर्फ त्रिचन तामाङ र छात्रा तर्फ दिपा राईलाई सम्मान गरिएको थियो भने वेस्ट डिसिप्लिन स्टुडेन्ट सुजल तामाङ घोषित भएका थिए ।
कलेजले स्टुडेन्ट अफ द इयर बाट मेला राईलाई सम्मान गरेको थियो भने हस्पिटालिटि साईनिङ स्टार सम्राट कार्की भएका थिए । कार्यक्रममा एड्भान्स डिप्लोमा इन हस्पिटालिटी म्यानेजमेन्ट कोर्समा डिस्टिङ्गसन ल्याउने विद्यार्थीलाई पनि सम्मान गरिएको थियो । कलेजका सिइओ तथा संस्थापक अभिषेक श्रेष्ठ र निर्देशक तथा संस्थापक अनिल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा धरान उपमहानगरपालिकाका उपप्रमुख बेघाको प्रमुख आतिथ्यता रहेको थियो भने धरान उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख खतिवडा विशिष्ट अतिथिका रुपमा रहेका थिए ।
कार्यक्रममा श्री पब्लिक उच्च मावि धरानका प्राचार्य इन्द्रमोहन झा, हिसान सुनसरीका सचिव हेमन्त भण्डारी, एम्स एकेडेमी धरानका म्यानेजमेण्ट कोअर्डिनेटर दुर्गा सुवेदी, हिविस्कस इङ्लिस स्कुल धरानका विजयसिंह थेवे र पर्यटनकर्मी बासुदेव बरालको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सोही कलेजका संयोजक संगीत सिग्देलले गरेका थिए ।


