धरानः बैशाख १ गतेदेखि रिलिज भई देश–विदेशमा समेत चर्चा र सफलता चुमेको चलचित्र ‘जारी’ को टिम धरानमा आएका छन् ।
चलचित्रको निर्देशक उपेन्द्र सुब्बा, नायक दयाहाङ राई, नायिका मिरुना मगर, कलाकार विजय बराल, प्रेम सुब्बा, रेखा लिम्बू, जायिका राईलगायतका कलाकारहरु धरान आउँदा च्याब्रुङ नृत्यले स्वागत गरिएको थियो । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले कलाकारहरुलाई स्वागत गरेका थिए । मेयर साम्पाङले पनि कलाकारहरुसँगै बसेर चलचित्र हेरेका थिए ।
‘जारी’ को २५ औं शो लाई धरानको फ्रेन्ड्स सिनेमा हलले विशेष शो को रुपमा आयोजना गरेको छ । लिम्बू संस्कृतिमा आधारित रहेर बनाइएको जारीले अहिले करोडौं कमाइसकेको चर्चा हुन थालेको छ ।
लिम्बू संस्कृतिलाई आम दर्शकले बुझ्ने गरी प्रस्तुत गरिएको चलचित्रमा पालम, युप्पारुङ, धान नाच, जाँड संस्कृतिलाई पटकथामा उनेर जारी प्रथाले पतिपत्नीबीचको सम्बन्धमा ल्याइदिने आरोहअवरोहलाई प्रस्तुत गरिएको छ ।
नेपाल जातजाति, भाषा, संस्कार–संस्कृति र सामाजिक परिवेशका लागि धनी छ भन्ने यथार्थलाई चलचित्रमार्फत प्रस्तुत गरिएको छ ।
तस्वीरहरुः हाम्रो कोशी आवाज


















