-लक्ष्मण थापा
धरानः सुनसरीका पत्रकारले धरान उपमहानगरपालिकाअगाडि प्रदर्शन गरेका छन् । भानुचोकमा भेला भएर मौन जुलुस निकालेका हुन् । उनीहरुले भानुचोक, चतरालाइन हुँदै धरान उपमहानगरपालिकाअगाडि पुगेर उनीहरुले मौन जुलुस प्रदर्शन गर्नुका साथै उपमहानगरपालिकाअगाडि मुख थुनेर प्रदर्शन समेत गरे । उनीहरुले प्रेस स्वतन्त्रता हननविरुद्ध पत्रकार मौन जुलुसमा सहभागी भएर विरोध जनाएका हुन् ।
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले फेसबुक पेजमार्फत् प्रेस स्वतन्त्रता विरोधी अभिव्यक्ति दिएको भन्दै सुनसरीका पत्रकारहरु चारदिनदेखि आन्दोलित छन् । उनले पत्रकार तथा सञ्चारकर्मी माथि प्रयोग गरिएको अमर्यादित भाषा र दुव्यहारपूर्ण अभिव्यक्ति कारण आन्दोलित हुनु परेको नेपाल पत्रकार महासंघका अध्यक्ष जनकऋषि राईले जानकारी दिए ।
जुलुसमा पत्रकारहरुले स्वतन्त्रतापूर्वक लेख्न र बोल्न देऊ, प्रेस स्वतन्त्रतालाई सम्मान गर, तिमी शासक कि जनप्रतिनिधि, हामी यसको जवाफ पाउँछौ कि, प्रेस स्वतन्त्रताको रक्षा गर लगायतका नारासहितको प्ले कार्ड बोकेर उनीहरु उपमहानगरपालिका अगाडि पुगेका थिए । मौन प्रदर्शनमा धरानका राजनीतिक दलहरुले पनि साथ दिएका थिए । पूर्व नगर प्रमुख तिलक राई, नेकपा माओवादी केन्द्रका नगर संयोजक चोत्लुङ, नेपाली कांग्रेसका नगर सभापति श्याम पोख्रेल, जनता समाजवादीका ताजुब लिम्बूलगायत पनि मौन जुलुसमा समर्थन गर्न पुगेका थिए ।
भोलि धरानका पूर्व नगर प्रमुख र जनप्रतिनिधिसँग ‘प्रेसमैत्री धरान, हिजो र आज’ विषयक अन्तर संवाद गर्ने कार्यक्रम रहेको महासंघका अध्यक्ष राईले जानकारी दिए । यसअघि सुरक्षा माग गर्दै उनीहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र समेत बुझाइसकेका छन् । कतिपय धरानबासीले फेसबुक पेजमै लेखेको भरमा किन आन्दोलनमा उत्रिएको समेत भनेर प्रश्न गर्न थालेका छन् । मेयर साम्पाङले फेसबुक पेजमार्फत् झोले पत्रकार भन्ने अभिव्यक्ति दिँदै आएका छन् ।
तस्वीरः लक्ष्मण थापा


