धरानः नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले मुलुकमा केही गर्न ‘बहुलाउनै’ पर्ने बताएका छन् । आइतबार फेसबुकमा स्टाटस लेख्दै उनले देश बनाउन बहुलाएरै लाग्नुपर्ने आशय व्यक्त गरेका हुन् । उनले संविधान निर्माण, नाकाबन्दीको सामना गर्न पनि ‘बहुलाएर’ लागेको बताएका छन् ।
उनले धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङलाई ‘बौलाहा टाइपको मेयर’ भनेपछि विवादमा आएका थिए । त्यसपछि उनले आफ्नो बचाउ गर्दै यस्तो स्पष्टीकरण दिएका हुन् ।
सामाजिक सञ्जालमा एक कार्यक्रममा रिमालले बोलेको भिडियो भाइरल बनेको छ, जहाँ उनले धरानका मेयर हर्क साम्पाङलाई ‘बहुला टाइप’ को भनेका थिए । त्यसलगत्तै साम्पाङले पनि फेसबुकमा प्रतिक्रिया दिँदै रिमाललाई ‘गुइँठे’ को संज्ञा दिएका थिए ।
त्यसपछि रिमालले पनि फेसबुकमा देश बनाउन बहुलाउनैपर्ने आशयको अभिव्यक्ति दिएका छन् । ‘अहिले धरानका मेयर, धरानेलाई पानी खुवाउन ‘बहुलाएर’ लागेका छन् । सबैलाई श्रमदान गर भनिरहेका छन् । त्यसैले मैले पनि भनेको छु– ‘बहुला पाराले’ काम गर्ने, धरानमा थाहा छैन, तर बाहिर पपुलर मेयर,’ उनले लेखेका छन्, ‘म पनि काम गर्ने मामिला ‘बहुलाउने’ मानिस हुँ, हो, मुलुकमा केही गर्न हामी अब ‘बहुलाउनै’ पर्ने भो, फेरी पनि मेरो यो शब्द प्रयोगमा विभिन्न व्यक्तिहरूको असहमति देख्छु, सामाजिक सञ्जालमा आलोचना गरिरहेको देख्छु । म ति आलोचना स्वीकार्छु, धन्यवाद ।’
उनले साम्पाङलाई बहुला पाराले काम गरेको बताएका थिए । त्यसपछि सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि रिमालले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै भनेका छन्, ‘हो, अब हामी बहुलाउनैपर्छ !’
उनले ०७२ सालमा संविधान निर्माण गर्न आफूहरू ‘बहुलाएरै’ लागेको बताउँदै त्यसपछिको नाकाबन्दीको सामना गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली ‘बहुलाएरै’ भिडेको समेत बताएका छन् ।
‘जनताले साथ दिए, मुलुकले सफलता हासिल गरयो । ०७४ को चुनावपछि हामी ‘बहुलाएरै’ काममा जोतिएका थियौं । आधा शताव्दीसम्म हाम्रो सम्प्रभुता बाहिर रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानी । हामीले ‘बहुलाएरै’ नक्सामा सामेल गरयौं । सिंगो मुलुक एक ठाउँमा उभियो,’ उपमहासचिव रिमालले भनेका छन् ।