धरानः बास्केटबल संघको आयोजनामा आयोजित ट्यालेन्ट हन्ट बास्केटबल प्रतियोगिताको उपाधि छात्रतर्फ बिबोइज र छात्रातर्फ वरियर टिमले चुमेको छ ।
धरान रंगशालामा भएको इन्डोर बास्केटबल कोर्टमा सम्पन्न प्रतियोगितामा बिबोइजले द युथ टिमलाई १३–७ र वरियरले ग्लाडियटर टिमलाई ६–२ अङ्कको अन्तरले पराजित गर्दै उपाधि चुमेको हो । बिजेता तथा उपबिजेता टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उनीहरुलाई कार्यक्रमका सभाध्यक्ष सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदी, प्रमुख अतिथि प्रदेशसभा सदस्य विजयकुमार राई, ८ नम्बर वडाका वडाध्यक्ष धनबहादुर राई, १० नम्बर वडाका वडाध्यक्ष विवेक राई, धरान मेघा हिमालयन कलेजका प्राचार्य भाष्कर पौडेल, धरान गल्फ क्लबका उपाध्यक्ष जीतेन्द्र राईलगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी मोस्ट भ्यालुएवल प्लेयरको उपाधि छात्रतर्फ बिबोइजका शिवम सरराफ र छात्रातर्फ वरियरका दीया कोयी राई घोषित भए । उनीहरुले प्रमाणपत्र र मायाको चिनो प्राप्त गरे । धरान मेघा कलेजको मुख्य प्रायोजन तथा मन्टेश्वरी किन्डरगार्टेनको सहप्रायोजनमा आयोजित प्रतियोगितामा छात्रतर्फ ६ टिम र छात्रातर्फ २ टिमको सहभागिता थियो ।
प्रतियोगितामा धरान बास्केटबल संघले वैशाख ९ गतेदेखि ३० गतेसम्म सञ्चालित ट्यालेन्ट हन्टमा सहभागी विद्यार्थीहरुले सहभागिता जनाएका थिए । उनीहरुको क्षमता अभिवृद्धि तथा अनुभवका लागि प्रतियोगिताको आयोजना गरिएको बास्केटबल संघका अध्यक्ष सुवेदीले जानकारी दिए । ट्यालेन्ट हन्टका उत्कृष्ट छात्रछात्रा बास्केटबल खेलाडीहरुलाई धरानका विभिन्न कलेजमा छात्रवृत्तिका लागि सिफारिस गरिने अध्यक्ष सुवेदीले जानकारी गराए । प्रतियोगितामा प्राविधिक सहयोग सुनसरी बास्केटबल संघले गरेको थियो ।
