धरानः प्रहरीले १६ वर्षअघि जबर्जस्ती बलात्कारपश्चात फरार रहेका दुईजनालाई पक्राउ गरेको जनाएको छ ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लका अनुसार पक्राउ पर्नेमा धनकुटा शहिदभूमी गाउँपालिका–१ धाप बस्ने ५६ वर्षीय चन्द्रबहादुर राई र ४४ वर्षीय कल्पन राई रहेका छन् ।
यस्तो थियो घटना
धरान–१२ महेन्द्रपथमा रहेको बलभद्रेश्वर अरुणोदय धर्मशालाको कोठा नं. २१८ मा २०६४ साल मंसिर २३ गते धरान–१० का एक व्यक्तिकी श्रीमती मृत फेला परेकी थिइन् । २५ वर्षीया ललिता राई नामकी ती महिला मृत फेला परेपछि प्रहरीले अनुसन्धान थालेको थियो । प्रहरीले त्यतिबेला ललिताको शव सडेगलेको र मुख तथा योनीबाट रगत निस्किएर दुर्गन्धित अवस्थामा फेला पारेको थियो । घटनामा संलग्नको पहिचान हुन नसकेको र किटानी जाहेरी पनि नपरेपछि प्रहरीले सुक्ष्म अनुसन्धान थालेको थियो । मिसिल संलग्न कागजातहरुको सुक्ष्म अनुसन्धान, मृतकको आफन्तहरु समेत सँगको निरन्तर समन्वय तथा प्रहरीले आफूलाई शंका लागेका व्यक्तिहरुलाई गरिएको निगरानीबाट प्रहरी घटनामा संलग्नहरुसँग पुग्न सफल बनेको थियो ।
उनीहरुले जबरजस्ती करणीपश्चात् हत्या गरेको स्वीकारेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी मल्लले जानकारी दिए । ललितालाई धर्मशालामा ल्याई राखेपछि दुवैजनाले कोठाभित्र पालैपालो पटक–पटक जबरजस्ती करणी गरी करणी पश्चात घाँटी थिची हत्या गरी शव कोठाभित्र नै छाडी भागेको बयान दिइसकेको उनले जानकारी दिए ।
उनीहरुलाई पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ को कर्तव्य ज्यान सम्बन्धी कसूरअन्तर्गत सुनसरी जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।