धरानः धरान मेघा हिमालयन स्कुल, कलेजले हरेक महिनाको अन्तिम शुक्रबार साँस्कृतिक कार्यक्रमको आयोजना तथा विद्यार्थीहरुमा जातीय पोशाक पहिरनमा विद्यालय आउनुपर्ने निर्णय गर्दै अनिवार्य पनि गरेको छ ।
शुक्रबार विद्यार्थीहरुलाइ प्रकृतिपुजक किरातीहरुको संस्कृतिअनुरुप साकेला सिली नाच प्रदर्शन गरेको छ । विद्यालयका विद्यार्थीहरुलाई औपचारिक शिक्षासँगै व्यवहारिक ज्ञान दिनका लागि विद्यालयले महिनाको अन्तिम शुक्रबार साँस्कृतिक कार्यक्रमको सुरुवात गरेको हो । हरेक महिनाको अन्तिम शुक्रबार विभिन्न जाति तथा समुदायको साँस्कृतिक प्रदर्शन गर्ने एवं विद्यार्थीले जातीय तथा साँस्कृतिक झल्किने पोशाक लगाउनुपर्ने अनिवार्य नियम लगाइएको धरान मेघा हिमालयनका अध्यक्ष कैलाश लिम्बूले जानकारी दिए ।
नेपाल बहुजाति, बहुसंस्कृतिकको साझा फूलबारी हो । तसर्थ सबै जातजातिको संस्कृति, पोशाक र चार्डपर्वलाई सिक्ने, सिकाउने व्यवहारिक ज्ञान साना बालबालिकाबाट नै उनीहरुलाई सिकाउँदा एकअर्काको संस्कार–संस्कृतिप्रति सम्मान, माया र समाजिक सद्भाव बढ्ने हुँदा यसखालको कार्यक्रमको सुरुवात गरिएको अध्यक्ष लिम्बूले जानकारी दिए ।
विद्यालयमा शुक्रबारदेखि शुरु भएको विभिन्न जातीय पोशाकहरुमा राई, लिम्बू, नेवार, मुस्लिम, तामाङ, मगरलगायतका पहिरनहरुमा विद्यालयका विद्यार्थीको उपस्थिति रहेको थियो ।
धरान–१२ मा रहेको धरान मेघा हिमालयन बोर्डिङ स्कुलको प्राङ्गणमा किरात राई यायोख्खा खेलकुद संघ, सुनसरीको समन्वयमा साकेला शिली प्रदर्शनी तथा विद्यार्थीहरुलाई सिकाउने कार्यक्रम सम्पन्न भएको छ ।
औपचारिक कार्यक्रमको प्रमुख अतिथिको रुपमा किरात राई यायोख्खा जिल्ला समितीका अध्यक्ष राजेन्द्र राई रहेका थिए । राई जातिले मनाउने साकेला शिलीको बारेमा किरात राई यायोख्खा जिल्ला समितिका अध्यक्ष राईले विद्यार्थीहरुलाई बताए । बैशाखी पूर्णिमा देखि शुरु भएको उभौली १५ दिनसम्म विभिन्न वडाहरुमा साकेला शिली प्रदर्शनी गरेर मनाउने गरको र औंशीको दिन साकेला शिली औपचारिकरुपमा संस्थाले समापन गरिसकेको बताए ।
तर वडाहरुमा समापन गर्न बाँकी भएकाले जेठ महिनासम्म ढोल झयाम्टा बजाउन मिल्ने भएकोले विद्यालयमा सिकाउँदै गरेको बताए । ‘विद्यालयदेखि नै एकअर्काको संस्कार र संस्कृतिको बारेमा बुझाउन सके सबैको संस्कार संस्कृतिको जग्रेना र सम्मान हुनेछ’ उनले भने । किरात राई यायोख्खा र धरान मेघा हिमालयनबीचको सम्बन्ध राम्रो भएको र विपन्न जेहन्दार राई विद्यार्थीहरुका लागि विद्यालयले छात्रावृद्धि सहयोग दिँदै आएकोमा अध्यक्ष राईले कलेज परिवारलाइ धन्यवाद दिए ।
साकेला शिली प्रदर्शन र विद्यार्थीहरुलाई सिकाउने उद्देश्यले किरात राई यायोख्खाका जिल्ला सदस्य तथा किराया खेलकुद संघका संयोजक विकास चाम्लिङ राईले समन्वयकारी भूमिका खेलेका थिए । धरान मेघाले आयोजना गरेको राई जातिहरुको साकेला शिली प्रदर्शनी कार्यक्रम ज्यादै उदाहरणीय रहेको र किरातिहरु प्रकृतिपूजक र कृषिमा निर्भर भएकोले अन्नबाली लगाउनुअघि पितृ र प्रकृतिलाई सम्झिँदै पूजाअर्चना गर्ने गरेको उनले बताए ।
यसअघि धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले प्रत्येक हप्ताको एकपटक जातीय पोशाकमा स्कुलमा उपस्थित हुन आग्रह गरेका थिए ।








