धरानः धरान–५, स्थित डीपी विलिभर्स इङ्लीस स्कुलमा अध्ययनरत कक्षा ७, ८ र ९ मा अध्ययनरत विद्यार्थी र अभिभावकहरुको लागि एकदिने ‘किशोरकिशोरीहरूको लागि अभिभावकत्व’ विषयमा सेमिनार सम्पन्न भएको छ ।
स्कुलका प्रधानाध्यापक सञ्जीप बान्तवाको अध्यक्षता साथै अराइज एण्ड साइन नेपालका कार्यकारी निर्देशक योहोशु सुब्बा लिम्बूको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्राचार्य बान्तवाले स्वागत गर्दै वर्तमान समयमा अभिभावकत्वसम्बन्धी धेरै चुनौतीहरु भएकोले सो विषयमा अभिभावकहलाई प्रशिक्षण, जानकारी, अन्तरक्रिया र अनुभव साझेदारी गर्ने उद्देश्य सेमिनारको आयोजना गरेको बताए ।
सेमिनारका प्रमुख वक्ता, अराइज एण्ड साइन नेपालका कार्यकारी निर्देशक योहोशु सुब्बा लिम्बूले किशोरकिशोरीहरूको उमेर, प्रकृति, मनोविज्ञान, रुचिहरू, किशोरावस्था समस्याहरूले उनीहरुको मनोविज्ञान र व्यवहारमा प्रत्यक्ष प्रभावपर्ने भएकोले , किशोरकिशोरीहरूसँग पूरा धैर्यता र बुद्धिमानीपूर्वक व्यवहार गर्नुपर्ने बताए । उनीहरुको लागि अभिभावकले पनि लक्ष्य निर्धारण, समय व्यवस्थापन, समय सान्दर्भिक सुझाव र परामर्श, अनुकरणीय मार्गदर्शन दिदै सकारात्मक अभिभावकत्वको भूमिका निर्भाह गर्नुपर्ने बताए ।
सेमिनारममा अराइज एण्ड साइन नेपालका प्रशासक अधिकारी– बिष्णु अवस्थी र कार्यक्रम संयोजक राधिका लामाले अभिभावकहरुलाई रचनात्मक खेलहरू खेलाएकी थिइन् । सेमिनारमा वक्ताहरुलाई स्कुलका उप प्राचार्य, कुर्मित (लेप्चा) बान्तवाले धन्यवाद र मायाको चिनो प्रदान गरेका थिए । उनले आगामी दिनहरुमा पनि विभिन्न सम्बन्धित विषयहरूमा दुवै अभिभावक र विद्यार्थीहरूको लागि सेमिनार सञ्चालन गरिने बताए ।
स्कुलमा अध्ययनरत कक्षा ७, ८ र ९ मा अध्ययनरत विद्यार्थीका लगभग ५० अभिभावकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम शिक्षक वीरेन्द्र लिङदेनले सञ्चालन गरेका थिए ।




