धरानः धरानका किशोर राई प्रदेश फुठबल संघको अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । उनले अहिले सरकारले पस्किएको संघीय बजेटमा असन्तुष्टी ब्यक्त गरेका छन् ।
गत आइतबार कोशी प्रदेश फुटबल संघको अध्यक्षमा निर्वाचित भएर धरान आइसकेपछि उनले धरान–१३ स्थित पत्रकार महासंघ सुनसरी हलमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा सातै प्रदेशमा खेलकुदका लागि बजेट विनियोजन गरेको तर उपेक्षित र अपमानजक व्यवहार गरेको बताए ।
अध्यक्ष राईले भने, ‘आधुनिक स्पोर्टस्, स्कुल वा एकेडेमी सञ्चालन गर्ने खोइ भिजन ? सातै वटा प्रदेशलाई बजेटले सम्बोधन गर्नुपर्दैन ? क्रिकेटलाई एउटा रंगशाला र विराटनगरमा एउटा रंंगशाला भनेर मात्र हुन्छ ?’
फुटबल संसारको एकदमै लोकप्रिय खेल रहेको तर नेपाल सरकारले फुटबललाई सम्बोधन गर्न नसकेको गुनासोसहितको आक्रोश पोखे । उनले सरकारसँग बजेटमा पुनर्विचार गर्नुपर्ने र फुटबलको क्षेत्रमा सातै प्रदेशमा आवश्यक बजेट विनियोजन गर्नुपर्ने माग राखे । उनले कोशी प्रदेशमा फुटबल खेललाई रोजगारीमुखी र व्यावसायिक बनाउँदै खेल क्षेत्रको विकासमा आफू अहोरात्र लागि पर्ने बताए ।
अध्यक्ष राईले धरानमा रात्रीकालीन फुटबल खेलको लागि रंगशालामा फ्लड लाइट लगाउने पहल सरकारबाट गरिने समेत बताए । नेपाल फुटबल महासंघ एन्फाका केन्द्रीय मानार्थ वरिष्ठ उपाध्यक्ष समेत रहेका राईले शिक्षामन्त्री भएका अशोक राईले क्यबिनेटबाट धरानको समग्र विकासको लागि ३–४ वटा योजनाहरु मात्र ल्याइदिएको भएपनि धरानको विकासमा टेवा पुग्ने समेत बताए ।
अध्यक्ष राईले फुटबल संघमा राजनीति गर्न नहुने समेत बताए ।
तस्वीरः लक्ष्मण थापा