धरानः धरानमा पनि गर्मी चढ्दो छ । धरानमा अत्याधिक गर्मी बढेपछि एकसाताका लागि विद्यालयलाई विदा दिइएको छ ।
जेठ १८ गतेदेखि जेठ २४ गतेसम्म धरानका सबै विद्यालयहरुलाई विदा दिइएको धरान उपमहानगरपालिकाले जनाएको छ । शिक्षा महाशाखा प्रमुख गणेशप्रसाद खतिवडाका अनुसार गर्मीको कारण पठनपाठनमा समस्या देखिँदै गएपछि सातादिनको लागि नगर प्रमुखस्तरीय निर्णयबाट विदा दिइएको हो ।
धरानका सामुदायिक तथा निजी विद्यालयहरु साताका लागि बन्द गर्ने निर्णय नगर प्रमुख स्तरीय निर्णय भएको उनले जानकारी दिए । सो बिदा वर्खे बिदामा मिलान गरिने सूचनामा जनाइएको छ ।
दुईदिनदेखि अत्याधिक गर्मी बढेका कारण अन्यतिर विद्यालय बन्द भएका समाचारहरु आइरहँदा सामाजिक सञ्जालमा धरानमा पनि विद्यालय बन्द गरिनुपर्ने आवाज उठिरहेको थियो ।
