Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

जातीय पोशाकमा रमाउँदै धरानको सुनाखरी एकेडेमीका विद्यार्थी, साकेला पनि सिक्दै (६५ तस्वीर र भिडियोसहित)

हाम्रो कोशी आवाज
जेष्ठ २१ २०८०, आइतबार
जातीय पोशाकमा रमाउँदै धरानको सुनाखरी एकेडेमीका विद्यार्थी, साकेला पनि सिक्दै (६५ तस्वीर र भिडियोसहित)

धरानः धरानमा विद्यार्थी जातीय पोशाक ‘कल्चरल ड्रेस’ मा सजिएर विद्यार्थी स्कुल जान थालेका छन् ।
धरान-१२ स्थित सुनाखरी एकेडेमीका छात्रछात्रा मात्रै होइन शिक्षकहरु पनि जातीय पहिरनमै सजिएर स्कुल पुगेका थिए । अधिकांश विद्यार्थी एउटा जातिको भएपनि अर्को जातिको पहिरनमा समेत सजिएर पुगेको देखिन्थ्यो ।
छात्रा दीक्षा लिम्बूले जातीय पोशाकले आफ्नो संस्कार, संस्कृतिको जगेर्ना गर्ने साथै आफूले पनि थप कुरा सिक्ने अवसर पाएको बताइन् । स्कुलले कल्चरल डे मनाएको प्रिन्सिपल मिलनकुमार राईले जानकारी दिए । उनले विद्यार्थीमा आफ्नो संस्कार, संस्कृतिबारे व्यवहारिकरुपमै ज्ञान होस् भनेर ‘कल्चरल डे’ कार्यक्रम आयोजना गरिएको बताए । उनले जातीय पोशाकमा विद्यार्थी सजिँदा आफूलाई समेत गर्वको महसुस भएको बताए ।
नोरिना मग्राती अन्य समुदायको भएपनि उनी मगर समुदायको पोशाकमा स्कुल आइपुगेकी थिइन् । उनी फरक समुदायकी भएपनि मगर जातिको पोशाकले आकर्षित गरेको र छिमेकमा रहेकी साथीको पोशाक आफूलाई समेत फिट हुने भएकोले मागेर लगाएको बताइन् । ‘म मग्राती समुदायकी हुँ तर अन्य जातिमध्ये मगर जातिको संस्कार, संस्कृति जान्न साथै पोशाक लगाउने कौतुहलता पहिलादेखि नै थियो’, उनले भनिन्, ‘यही पहिरनमा स्कुलसम्म पनि आइपुगेको छ, खुशी र गर्वले पुलकित छु ।’
उनले जातीय पोशाकले आफ्नो मौलिक परम्परा जोगाउन सिकाउने बताइन् । ‘जातीय पोशाकले विद्यार्थीले संस्कार, संस्कृति सिक्ने भुल्न नहुने रहेछ भन्ने ज्ञान हुन्छ भन्ने बुझेकी छु’, उनले थपिन् ।
स्कुलमा राई, लिम्बू, नेवार, मगर, तामाङ, शेर्पा, मधेशी, क्षत्री बाहुनलगायतका जातिको पहिरनमा विद्यार्थी उपस्थित थिए ।
स्कुलका डाइरेक्टर प्रदीप राईले विद्यार्थीलाई कल्चरल पोशाकमा विद्यार्थीलाई उत्साह प्रदान गर्दै आएको जानकारी दिए । उनले अधिकांश विद्यार्थी यस्तो पोशाकप्रति उत्साहित भएको र अभिभावकले पनि सपोर्ट गर्दै आएको बताए । नेपाल बहुजाति, बहुसंस्कृतिकको साझा फूलबारी हो । तसर्थ सबै जातजातिको संस्कृति, पोशाक र चार्डपर्वलाई सिक्ने, सिकाउने व्यवहारिक ज्ञान साना बालबालिकाबाट नै उनीहरुलाई सिकाउँदा एकअर्काको संस्कार–संस्कृतिप्रति सम्मान, माया र समाजिक सद्भाव बढ्ने हुँदा यसखालको कार्यक्रमको सुरुवात भएको उनले बताए ।
प्रिन्सिपल मिलनकुमार राईले धरान उपमहानगरपालिकाले पनि संस्कार, संस्कृति जोगाउन कल्चरल पोशाकमा विद्यार्थीलाई सघाउने खालको नीति ल्याए अझै राम्रो हुने उनले जानकारी दिए । ‘एकपटक मेयर हर्कराज राई साम्पाङले पनि स्कुलले विद्यार्थीलाई सांस्कृतिक पहिरनमा सजिन आह्वान गर्नुभएको थियो, हामीले मात्रै होइन, अन्य स्कुल साथै स्थानीय सरकारले पनि संस्कार, संस्कृति जोगाउन चासो दिनु पर्दछ जस्तो लाग्छ ।’ उनी भन्छन् ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

 

 

प्रकाशित मिति: जेष्ठ २१ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend