धरानः धरान-५, स्थित डीपी विलिभर्स इङ्लीस स्कुलका विलिर्भस स्काउट दलद्वारा विश्व वातावरण दिवसका अवसरमा सरसफाइ, गोडमेल तथा वृक्षारोपण सम्पन्न भएको छ ।
‘प्लाष्टिक प्रदुषणविरुद्ध समाधान’ भनी घोषणा गरिएको यस वर्षको विश्व वातावरण दिवसको मूल नारालाई सम्बोधन गर्दै स्कुलका प्रधानाध्यापक सञ्जीप बान्तवाले मानव जीवनको लागि वातावरणको महत्वबारे प्रकाश पार्दै ‘पृथ्वी मात्र हाम्रो साझा घर’ भएकोले प्रत्येक मानिस (शिक्षक, अभिभावक, समाज र विद्यार्थी) ले हरेक दिन वातावरण संरक्षण र पदोन्नतिको लागि एकजुट भएर अघि बढ्दै जानुपर्ने बताए । वातावरणको संरक्षण गर्नको लागि प्लाष्टिकका वस्तुहरू कम प्रयोग गर्दै, लागू समेत गर्दै घर, बजार वा छिमेकमा भएका विभिन्न सामग्री र स्रोतहरूलाई संयमतापूर्वक प्रयोग, पुनः प्रयोग, फेरि प्रयोगमा ल्याउने प्रक्रिया कार्यान्वयन गर्नुपर्ने बताए ।
स्कुलका उपप्राचार्य, कुर्मित (लेप्चा) बान्तवाले स्काउट दलद्वारा विद्यालय परिसर र वरपर सरसफाइ, बगैंचा गोडमेल तथा वृक्षारोपण कार्यक्रम गरेको बताए ।
‘रूख र फूलहरूले वातावरण सुन्दर पार्नुका साथै तिनीहरूले हावा पनि शुद्ध गर्दछ, आज रोपिएको फूल र बिरुवाको प्रत्येक गमला एक– एक स्काउट टोलीलाई सुम्पिएको छ, स्काउट मास्टर र शिक्षकको निगरानीमा सम्बन्धित स्काउट समुहले टोलीको रूपमा उक्त बिरुवाहरुको हेरचार, गोडमेल, मलजल गर्दा विद्यार्थीहरूले वातावरण सम्बन्धि व्यावहारिक ज्ञान प्राप्त गर्नेछन्’, उनले भने ।
विलिर्भस स्काउट दलका स्काउट मास्टर अविशेक गहतराजले कार्यक्रमको समन्वय गरेका थिए ।
