धरान-३ स्थित तीनधारेमा पानी थाप्दै स्थानीय । तस्वीरः हाम्रो कोशी आवाज
लक्ष्मण थापा
धरानः धरानमा लामो समयदेखि परेको खडेरीका कारण पानीको समस्या भएको भन्दै धरान–१४ स्थित पिण्डेश्वर मन्दिरमा ब्रम्हाणहरुले यज्ञ गरेका छन् ।
लगातारको खडेरीका कारण पानी नपर्दा प्राणी जगतलाई नै समस्या परेको भन्दै भगवान शिवलाई वर्षा गराइदिन भनी अनुरोध गर्दै धरानका २७ जना ब्रम्हाणहरुले होमका यज्ञ गरेका हुन् ।
विश्वमा देखिएको प्रचण्ड गर्मी लामो खडेरीका कारण सम्पूर्ण प्राणी जगत, चराचुरुङ्गीलाई समस्या परेको भन्दै उनीहरुले प्रजन्य (वर्षा वृष्टि गर्ने) यज्ञ गरेका हुन् । भगवान शंकरको आराधन गर्दै यज्ञको आरम्भ गरिएको पण्डित धर्मराज तिम्सिनाले बताए । उनले विगत लामो समयदेखि खडेरी पर्दा यज्ञ लगाउने गरिएपनि विस्तारै यस्तो प्रथा हराउँदै गएको बताए । उनले तिम्सिनाले ब्राम्हणहरुको सहभागितामा गरिएको यज्ञपश्चात पक्कै पानी पर्ने विश्वास लिएको बताए ।
२५ वर्ष अगाडि धरानको शिव मन्दिरमा यस्तै प्रकारको खडेरी हुँदा ब्राम्हाणहरुले प्रजन्य यज्ञ लगाएको स्मरण गर्दै त्यसबेला यज्ञ सकिनसाथ पानी परेको उनले बताए । तर यसपछि भने यो धरानमा पहिलो यज्ञ भएको उनले बताए । उनले यो यज्ञमा विश्वास गर्नेहरुले सहयोग समेत गरेको बताए ।
२७ जना ब्राम्हण गुरुद्वारा रुद्री पाठ, रुघु रुद्री पाठ, चण्डी पाठ, वेद पाठ, हनुमानको जप, नागको जप गरेका थिए । लगातारको खडेरीले जनजीवन नै प्रभावित भएको अवस्थामा यज्ञ गर्दा पानी पर्ने विश्वास लिएर यज्ञमा खटिएका गुरुहरुलाई जलपानको व्यवस्था गरिएको धरान–७ की विमला श्रेष्ठले बताइन् ।
पिण्डेश्वर मन्दिरअगाडि बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म यज्ञ गर्ने स्थल नै बनाएर ब्राम्हणहरुले यज्ञ गरेका थिए । यो यज्ञ धरानमा २५ वर्ष पछाडि गरिएको बताइएको छ । सायद यस्तो खालको यज्ञ अन्यत्र नभएर धरानमा नै यो वर्ष पहिलो भएको ब्राम्हणहरुको दावी छ । यज्ञ, जप जस्ता धार्मिक कार्यहरु सर्वसाधारणले विस्तारै छोड्दै गएको बताउँदै समय समयमा यस्ता खालका यज्ञहरु गर्न सके पृथ्वीमा संकट नहुने उनीहरुले विश्वास व्यक्त गरेका छन् ।
तस्वीरः: लक्ष्मण थापा

