धरानः धरान–९ स्थित विष्णु मेमोरियल माध्यमिक विद्यालयमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।
स्कुलको आयोजना तथा काउन्सिल अफ म्याथम्याटिक्स एजुकेशनको सहकार्यमा शुक्रबार अन्तर्राष्ट्रिय गणित विज्ञहरू तथा यस विद्यालय र अन्य केही विद्यालयका गणित विषय शिक्षकहरूको उपस्थितिमा अन्तरक्रिया सम्पन्न भएको प्रिन्सिपल निलमकुमार श्रेष्ठले जानकारी दिए ।
अन्तक्र्रियामा अमेरिकाका ५ जना र अस्ट्रियाका एकजना गणित विषय विज्ञको उपस्थिति रहेको थियो । अन्तरक्रियाले अन्तर्राष्ट्रियस्तरमा गणित शिक्षण–सिकाइमा अवलम्वन गरिएका निविनतम अभ्यास, प्रभावकारिता तथा उपलब्धिहरूका बारेमा विषयका शिक्षकहरूलाई आवश्यक जानकारी प्रदान गर्ने र यसले विद्यार्थीहरूको सिकाईमा सहजता र गणित विषयप्रति लगाव अभिवृद्धि हुने अपेक्षा गरिएको प्रिन्सिपल श्रेष्ठले जानकारी दिए ।
‘गणित एक अमूर्त विषय हो । गणित समयको क्रमसँगै मानवद्वारा निर्मित विषय हो । यसले मानिसको दैनिक जीवनमा आइपर्ने सम्पूर्ण आवश्यकताहरुलाई पूरा गर्नको निम्ति ठूलो भूमिका निर्वाह गरेको पाइन्छ’, प्रिन्सिपल श्रेष्ठले भने, ‘यस्तो सिकाइले पठनपाठनमा गुणस्तर वृद्धि हुने अपेक्षा राखिएको छ ।’
व्यक्तिले कुशलतापूर्वक गणित सिक्नाले विभिन्न व्यापार व्यवसाय, उद्योगधन्दा, कृषि, विज्ञान र प्रविधि जस्ता विभिन्न क्षेत्रहरुमा पनि उच्चशिक्षा अध्ययनका लागि बलियो जग तयार हुने उनले बताए ।










