धरान: मंगलबारबाट हङकङमा सुरु भएको एसिसी वुमन्स इमर्जिङ टिम्स एसिया कप टी-२० क्रिकेटको आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तानसँग ९ रनले पराजित भएको छ।
नेपाली ब्याटिङ चल्न नसक्दा पाकिस्तानले दिएको ८८ रनको सामान्य लक्ष्य पूरा गर्न असफल भएको हो।
नेपालले पाकिस्तानविरुद्ध पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर ७८ रनमात्र बनाउन सक्यो। नेपालका लागि कविता कुँवरले २० रन बनाउँदा थप दोहोरो रनको स्कोरको रूपमा कविता जोशीको अविजित १५ रन रह्यो।
अन्य कुनै पनि ब्याटरले गतिलो प्रदर्शन गर्न सकेनन्। पाकिस्तानका लागि सेइदा अरोब सा र तुबा हसनले २-२ विकेट लिएका थिए। अनोसा नसिर र उम इ हानीले समान १-१ विकेट लिएका थिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४ बल बाँकी हुँदै ८७ रनमा अलआउट भएको थियो। १५ ओभरको समाप्तिपछि वर्षाले केही समय स्थगित भएको खेल पुन: सुरु भएपछि पाकिस्तानले ८७ रनको सामान्य स्कोर बनाएको थियो।
पाकिस्तानी ब्याटरविरुद्ध सुरुवातबाटै राम्रो बलिङ गरेको नेपालका लागि इन्दु बर्माले ३ विकेट लिँदा कविता कुँवर, कविता जोशी र सीता रानामगरले समान २-२ विकेट लिएका थिए।
पाकिस्तानका लागि ओपनर शवाल जुलफिकरले २८ रन बनाउनु सर्वाधिक रह्यो। उनीबाहेक अन्य ब्याटरले भने गतिलो प्रदर्शन गर्न सकेनन्। सदाफ खानले १२ रन बनाउँदा गुल फेरोजाको ११ रनको स्कोर तयार गरिन्। कप्तान फतिमा सना १६ रनमा आउट भएकी थिइन्।
प्रतियोगितामा नेपाल थाइल्यान्डले सहभागिता नजाउने भएपछि अवसर पाएर हङकङ पुगेको थियो।
थाइल्यान्डले भिसा समस्याका कारण अन्तिम समयमा नाम फिर्ता लिँदा नेपालले अवसर पाएको हो। यो प्रतियोगितामा नेपालको पहिलो सहभागिता हो।
प्रतियोगितामा नेपाललले आफ्नो समूहमा अब हङकङ र भारतसँग प्रतिस्पर्धा गर्ने छ। दोस्रो खेलमा नेपालले १५ जुनमा भारतसँग खेल्दा १७ जुनमा घरेलु टोली हङकङको सामना गर्ने छ।
प्रतियोगिताको अर्को समूहमा मलेसिया, युएई, बंगलोदश र श्रीलंका ए रहेका छन्। प्रतियोगिता दुवै समूहबाट शीर्ष दुई-दुई टिमले सेमिफाइनलमा स्थान बनाउने छन्।