धरानः धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले कोकाह खानेपानी अभियान चलाएर अथक प्रयासपछि धरानमा पानी झारेपछि नाचगान शुरु भएको छ ।
पञ्चेबाजागाजासहित पुगेको टोलीले अहिले धरान–११ स्थित सर्दु खोलाको बगरमा नचाइरहेको छ । पानी नल्याइ धरान घर फर्किन्नँ भन्दै जंगलै जंगल पानी वासआउट गर्दै हिँडेका मेयर पानी धरान ल्याउनकै लागि रातभर जाग्राम बसेका थिए । उनी मंगलबार बिहान मात्रै घर फिरे ।
मंगलबार एकाबिहानै (करिब १२ः३५ बजे) धरानस्थित सर्दुखोलामा पानी झारेपछि अहिले हेर्न पुग्ने र नुहाउन पुग्नेहरुको लर्को लागेको छ । अहिले सर्दु खोलामा नुहाउने र नाचगानको कार्यक्रम भइरहेको छ ।
यसअघि धरानमा पानी झारेपछि मेयर साम्पाङ भावुक समेत बनेका थिए । उनको जन्मदिन पनि आजै परेकोले सोही दिन पानी झार्न सफल बनेको भन्दै मेयर भावुक बनेका हुन् । उनले धेरै कुराको बाधा व्यवधान भएपनि पानी झार्न सफल भएपछि आफू निकै भावुक बनेको प्रतिक्रिया दिएका छन् । ‘कडा परिश्रम र मेहेनतको परिणामस्वरूप जनतालाई पानी ल्याउन सफल भएको छु जस्तो लाग्छ’, उनले भने, ‘यसमा सबै सहयोगीलाई विशेष धन्यवाद दिन्छु ।’
करिब चार करोड खर्चिएर सो पानी धरान आइपुगेको थियो । कोकाहाको पानी धरान ल्याउन सफल मेयर साम्पाङलाई अहिले सामाजिक सञ्जालमा मानिसहरूले बधाई दिइरहेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै मेयर साम्पाङले कोकाहा खोलाको पानीमा नुहाउन धराने जनतालाई आहवान गरेका छन् ।



















