धरानः धरानबासी, विद्यार्थी, चिकित्सक र कर्मचारी धरानमा आन्दोलनमा उत्रिएका छन् ।
‘स्वायत्तता अपहरण गर्न पाइँदैन, बीपी प्रतिष्ठानको रक्षा गर, जबर्जस्ती नगर सरकार, छाता ऐन हामी मान्दैनौं, प्रत्युत्पादक परिणाम आए केही जान्दैनौं लगायतकाका विविध नारा लेखिएको प्लेकार्ड सहित धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर, विद्यार्थी, कर्मचारी र धरानका पूर्व जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिहरु, जातीय संघका प्रतिनिधिहरु, व्यापारी र बुद्धिजीवीहरुले धरानमा मौन जुलुस निकालेका छन् ।
धरानस्थित बीपी कोइराला छुट्टै स्वायत्त संस्थाको स्थापना भएपनि तीन दशकपछि यसलाई छाता ऐनमा लाने सरकारी तयारी भएसँगै बीपीका राजनीतिक दल, प्रतिष्ठानका कर्मचारी, शिक्षक लगायत सम्बन्धित पक्ष आन्दोलिन बनेका हुन् । उनीहरुले संघर्ष समिति गठन गरेर आन्दोलनमा होमिएका छन् । आन्दोलनको निरन्ततास्वरुप उनीहरुले बीपी कोइरालाको गेट अगाडिबाट धरानको भानुचौकसम्म मौन जुलुस समेत निकालेका हुन् । मौन जुलुस धरान २ को भानुचौकमा आएर टुंगिएको थियो ।
भारत र नेपालको मैत्रीपूर्ण सहयोगमा २०५० सालमा निर्माण भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सरकारले छाता ऐनमा लाने प्रक्रिया अगाडि बढाएसँगै धरानका राजनीतिक दल, बुद्धिजीवी, समाजसेवी, बीपी प्रतिष्ठानका चिकित्सक, कर्मचारी, विद्यार्थी तथा शिक्षकहरुले संयुक्त रुपमा दबाबमूलक कार्यक्रमलाई अगाडि सारेका छन् ।
यस विषयमा संघर्ष समिति नै बनाएर अन्तरक्रियासँगै प्रतिष्ठानका निमित्त उपकुलपतिमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाइसकेको र उनीहरुले पछिल्लो विरोधस्वरुप मौन जुलुससहित सडकमा निस्किएका थिए ।
सधै राज्यबाट उपेक्षित धरानेहरु मौन रहँदा विगतमा अदालत लगायतका सरकारी कार्यालयहरु दर्जनौं धरानबाट सरेको र अहिले बीपीलाई पनि कोल्याप्स बनाउने सरकारी निर्णयले धरानको अस्तित्व समाप्त हुने र यसको विगतको जस्तो उच्च स्थानछ त्यही स्थान राख्नु पर्ने भन्दै माओवादी केन्द्रका नेता एवं प्रतिष्ठान बचाऊ संघर्ष समितिका संयोजक समेत रहेका मुक्साहाङ मेन्याङ्गबोल बताए ।
नेपाल र भारतको प्रतीकको रुपमा छुट्टै विश्व विद्यालयको रुपमा स्थापना भएको यो अस्पताललाई गाभेको खण्डमा बीपीको अस्तित्व नै समाप्त हुने प्रतिष्ठानका कार्यरत कर्मचारी, शिक्षकहरुले बताउँदै आएका छन् ।
शिक्षक कल्याण समाजका अध्यक्ष डाक्टर शेरराज खानले प्रतिष्ठान छाता ऐनमा जाँदा फाइदा केही नभएको बताउँदै उनले प्रतिष्ठान छाता ऐनमा जाँदा प्रतिष्ठानको अस्तित्व नामेट हुने, छुट्टै विश्वविद्यालयको प्राक्टिसमा चलेको यो संस्था एम्सको मोडलमा सञ्चालनमा आएको बताए । यसकै मोडलमा अन्य अस्पताल समेत सञ्चालन भएको बताउदै अन्य अस्पताललाई बचाउने स्वार्थ राखेर प्रतिष्ठानलाई पनि छाता ऐनमा लान लागेको उनले बताउँदै उनले बीपीलाई छाता ऐन लान विद्येयक पारित भएमा सबैको लागि अहित हुने समेत बताए ।
त्यसैगरी बीपीमा पढाई हुने विभिन्न संकायका पाठ्यक्रम छुट्टै एउटा युनिक किसिमको भएको र यहाँको पढाइ अन्तर्राष्ट्रियस्तरमा मान्यता पाएको बताउँदै छाता ऐनमा बीपी समावेश हुने बित्तिकै पठनपाठनमा समेत समस्या हुने विद्यार्थी कल्याण समाजका अध्यक्ष डा. ओम शान्ति रजकले बताए ।
तस्वीरः लक्ष्मण थापा
