धरानः धरानमा आयोजना भएको सांगीतिक कार्यक्रममा धरानका मेयर हर्कराज राई साम्पाङ, उपमेयर अइन्द्रविक्रम बेघा, अधिकांश वडाका वडाध्यक्षहरु सांगीतिक माहौलमा रमेमा छन् ।
धरान संगीत प्रतिष्ठानले शुक्रबार साँझ विश्व संगीत दिवसको अवसर पारेर यस्तो सांगीतिक कार्यक्रम आयोजना गरेको थियो । धरान–१५ स्थित चुम्लुङ भवनमा आयोजित कार्यक्रममा वरिष्ठ गायक तथा संगीतकार दीप श्रेष्ठ, वरिष्ठ गायिका लोचन भट्टराईलगायत स्थानीय कलकारहरुले सांगीतिक प्रस्तुति दिँदा मेयर, उपमेयर, वडाध्यक्षलगायत धरानबासी खुब जमेर नाचेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि बनेका मेयर साम्पाङले समेत गीत पस्किएका थिए । कार्यक्रममा चर्चित राष्ट्रिय कलाकार दीप श्रेष्ठले चलेका तीनवटा गीत पस्किएर भरपुर मनोरञ्जन दिलाएका थिए । धरान संगीत प्रतिष्ठानका अध्यक्ष तथा वडाध्यक्ष समेत रहेका रमेश राईले पनि गीत पस्किएर मनोरञ्जन दिलाए । वरिष्ठ गायिका लोचन भट्टराईले ‘खोटाङ जिल्ला दिक्तेल बजार’ बोलको गीतमा नचाइन् भने गायिका भूमिका अधिकारी, दीपक दर्नाल, कृष्णराजा श्रेष्ठ साथै अन्य स्थानीय कलाकारले पनि गीत गाएर मनोरञ्जन दिए ।
धरानमा रहेका खानेपानीका सामन्य स्रोतहरु पहिचान गरेर श्रमदानबाट खानेपानी संकलन गर्न सफल र श्रमदान गर्नुपर्छ भनेर जनतामाझ चिनाइरहेका उनको कामलाई राष्ट्रिय कलाकारले समेत तारिफ गरेका थिए । लोचन, दीपले पनि उनको कामको प्रशंसा गरे । यस्तै, गीतकार श्याम तमोटले पनि मेयरको कामको खुलेरै प्रशंसा गरे । कार्यक्रममा गायिका लोचन, गीतकार तमोट र हर्षु राईलाई सम्मान तथा अभिनन्दन गरिएको थियो । उनीहरुलाई दोसल्ला र सम्मान–पत्र साथ सम्मान गरिएको थियो । अभिनन्दित एवं सम्मानित प्रतिष्ठानका संरक्षक समेत रहेका मेयर साम्पाङ, उपमेयर बेघा, वरिष्ठ गायक श्रेष्ठ, प्रतिष्ठानका अध्यक्ष वडा २ का अध्यक्ष राईले अभिनन्दन, सम्मान–पत्र प्रदान गरेका थिए ।
तस्वीरहरुः हाम्रो कोशी आवाज र लक्ष्मण थापा


























