धरानः धरान रनका उदयीमान धावकहरुलाई प्रोत्साहन गर्न धरान मेघा हिमालयन कलेजले शनिबार खेलाडीहरुलाई स्पोर्टस जुत्ता प्रदान गरेको छ ।
नियमितरुपमा हरेक शनिबार धरान रनद्वारा आयोजना गर्ने ३ किमि रनको पाँच सय ८२ औं हप्ता रनमा धरान मेघा कलेजले सहयोग प्रदान गरेको हो । धरान रनले शनिबारको दौडलाई ‘धरान मेघा हिमालयन कलेज ५ सय ८२ औं हप्ता रन’ नाम दिएको छ । कलेजको तर्फबाट उदयीमान खेलाडी अर्पण राई, अमित मगर, सुजित विक, सुरेन राई र विपिन राईलाई स्पोर्टस जुत्ता प्रदान गरेको हो ।
यसैगरी २० हप्ता पूरा गरेका आयुस तामाङ, ५० हप्ता दौड पूरा गरेका प्रज्वल तामाङ र सत्यहाङ राईलाई टिसर्ट प्रदान गरेको छ । उनीहरुलाई धरान मेघा हिमालयन कलेजका अध्यक्ष कैलास लिम्बू, धरान रनका अध्यक्ष रोमु राई, धरान रनका धाविका सविता राई र जमुना लिम्बूले प्रोत्साहन पुरस्कार वितरण गरेका थिए ।
धरान मेघा कलेजले आफ्ना विद्यार्थीहरुको अतिरिक्त क्रियाकलापलाई विशेष महत्व दिँंदै आइरहेको छ । खेलकुदमार्फत् सामाजिक कार्य गर्दै आइरहेको धरान रन संस्थासँग समन्वय गरी सहयोग गरेर कलेजले सामाजिक उत्तरदायित्व निभाएको धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्बूले बताए । शनिवार बिहानदेखि वर्षा भएपनि ५ सय ८२ औं हप्ता रनमा २ सय १९ जनाले दौडिएका थिए ।


