-लक्ष्मण थापा
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानलाई समेत समेटेर सरकारले छाता ऐन ल्याउन लागेको भन्दै केहीदिनअगाडि धरानका नागरिक अगुवा, राजनीतिक दलहरुले विभिन्न आन्दोलन चरणबद्ध गरि असार ५ गते पछि संघर्ष समितिका लगभग १४–१५ जना प्रतिनिधीहरुको टोली सिंहदरबारमा डेलिगेशन गएर फर्किसकेका छन् ।
टोलीले डेलिगेशनको उपलब्धिअनुरुप प्रतिष्ठानलाई छाता ऐनमा राखिनु गलत हुन्छ भन्ने वातावरण बनाएर आएको संघर्ष समितिको दावीसँगै डेलिगेशन जाँदा संकलन गरिएको रकम र खर्च समेतको सार्वजनिक गरेको छ ।
पत्रकार सम्मेलनमा प्रतिष्ठान बचाऊ संघर्ष समितिका सदस्य एवं सञ्चारकर्मी सन्तोष काफ्लेले काठमाडौ गएका टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत विभागीय मन्त्रीहरु, राजनीतिक दलका शिर्ष नेताहरुलाई ज्ञापनपत्र बुझाउनुको साथै भेटघाट गरेको जानकारी दिए ।
कार्यक्रममा उनीहरुले प्रतिष्ठानका पूर्व उपकुलपति (भिसी) मदनप्रसाद उपाध्याय, लोकविक्रम थापा र शेखर कोइराला लगायतसँग अन्तरक्रिया गरेको फोटो भिडियो डकुमेन्ट्री प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रतिष्ठान बचाऊ संघर्ष समितिका व्यवस्थापन सचिव महेन्द्र प्रधानले पनि डेलिगेशन जानलाई आर्थिक संकलन गर्ने क्रममा राष्ट्रिय जनमुक्ति पार्टीका नेता विष्णु थाम्देन लिम्बूले १ हजार, सुमन श्रेष्ठले ५ हजार, राजेशमान श्रेष्ठले ३ हजार, हिरा उदासले ५ हजार, सुनसरी उधोग वाणिज्य संघ धरानबाट महेन्द्र प्रधान, विजय श्रेष्ठ, गोपाल श्रेष्ठ लगायतले संकलन गरेर ५० हजार, अजय राईले ५ हजार, नेपाली कांग्रेस धरान नगर समितिले १० हजार, ताजुब लिम्बूले २ हजार, मनोज भट्टराईले ४ हजार, भिषीआर राईले ५ हजार, मीन सुब्बाले ४ हजार, पदम विष्टले ४ हजार, संघर्ष समितिका संयोजक मुक्सामहाङ्ग लिम्बूले १० हजार, पूर्व वाणिज्य मन्त्री एवं नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीनकुमार विश्वकर्माले १० हजार, जनता समाज पार्टीका नेता एवं शिक्षामन्त्री अशोक राईले १० हजार र केही धराने साथीहरूबाट १० हजार र यातायात खर्चसहित गरेर १ लाख ६५ हजार ४ सय २ र आय देखिन्छ भने व्यय (खर्च) तर्फ १ लाख ७२ हजार २ सय देखिन्छ । यतिमध्ये डिजलको खर्च तिर्न बाँकी रहेको व्यवस्थापन सचिव प्रधानले दिएका छन् ।
पत्रकार सम्मेलनमा प्रतिष्ठान बचाउ संघर्ष समितिका संयोजक मुक्सामहाङ मेन्याङ्बोले डेलिगेशनको समग्र निष्कर्षमा डेलिगेसन जानु उपलब्धीमूलक रहेको बताए । संयोजक मुक्सामहाङले सबैजना प्रतिष्ठानको बारेमा सकरात्मक बनेको बताए । पूर्व नगर प्रमुख तिलक राईले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डाक्टर श्रीकृष्ण गिरीलाई अन्ततः सहमत गराउन सकेको बताए ।
कार्यक्रममा संघर्ष समितिका सदस्य एवं अग्रज पत्रकार हर्ष सुब्बा, महेश श्रेष्ठ, नेकपा एमाले क्षेत्रीय कमिटि इन्चार्ज मुरारी सुवेदी, महिला अधिरकारकर्मी चेतना श्रेङ्ग, नागरिक उन्मुक्ति पार्टी सुनसरी जिल्ला अध्यक्ष देउमान लिम्बू, राप्रपा नेता अशोक अविरल राई, नेकपा एमालेका केन्द्रीय सदस्य एवं धरानका पूर्व उपमेयर मन्जु भण्डारी सुवेदी समेतले धरानको सवालमा यसरी नै एक मत हुँदै अघि बढ्नुपर्नेमा जोड दिए ।
तस्वीरः लक्ष्मण थापा