धरानः धरान–५ स्थित डीपी विलिभर्स इङ्लीस स्कुलमा कक्षा ६, ७, ८ र ९ मा अध्ययनरत् विद्यार्थीहरूको लागि एकदिने रोबोटिक्स कार्यशाला सम्पन भएको छ ।
स्कुलका प्रधानाध्यापक संजीप बान्तवाको अध्यक्षतामा सम्पन्न कार्यशालाका प्रशिक्षकहरुलाई स्वागत र सहभागी विद्यार्थीहरूलाई सम्बोधन गर्दै वर्तमान युगमा हरेक क्षेत्रमा विज्ञान, कम्प्युटर र सूचना प्रविधिको महत्वपूर्ण भूमिका रहेकोले यसक्षेत्रमा सधै अपडेट हुँदै समयअनुसार अगाडि बढ्दै जानुपर्ने बताए ।
कार्यशाला दुई सत्रमा विभाजन गरिएको थियो । विद्यार्थीहरूलाई प्रशिक्षक विवेक न्यौपानेले रोबोटिक्सको सिद्धान्त र प्रतिक पौडेलले रोबोटिक्सबारे व्यवहारिक ज्ञान प्रदान गरेका थिए । कार्यशालामा रोबोटिक्सबारे आधारभूत अवधारणाहरु, रिमोट नियन्त्रण कार, रोबोटका प्रकार, मानवीय रोबोटको प्रयोग र रोबोटिक्सको भविष्यबारेमा चर्चा गरिएको थियो । विद्यार्थीहरूले रिमोट नियन्त्रण कार निर्माण गर्ने तरिका बारे पनि सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गरिएको थियो ।
आगामी दिनहरुमा विद्यार्थीहरूबीच रोबोटिक्स प्रतियोगिताको आयोजना गरिने स्कुलका सहप्राचार्य कुर्मित बान्तवा (लेप्चा) ले बताइन् । कार्यक्रम शिक्षक वीरेन्द्र लिङदेनले सञ्चालन गरेका थिए ।








