धरानः नेपाली कांग्रेस संघीय, प्रदेश सभा र सुनसरी क्षेत्र नं. १ (१) र १ (२) को असार २९ र ३० गते हुने २९–३० को सम्मेलनको प्रचारप्रसार गर्न नकाउट व्याडमिन्टन प्रतियोगिता आयोजना गरेको छ ।
धरान–१३ स्थित अमर सेवा समाजको ब्याडमिन्टन हलमा आयोजित प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेसकी केन्द्रीय सदस्य मीना सुब्बाले गरेकी थिइन् । कार्यक्रममा बोल्दै पूर्व संघीय सांसद समेत रहेकी उनले खेलाडीलाई राज्यले ध्यान दिनुपर्ने बताइन् । उनले खेलाडीको आर्थिक पक्ष कमजोर भएर खेल्न नसक्ने पनि बताइन् । उनले कुनैपनि खेलाडी खेल्न नसक्ने अवस्थामा राज्यको सहयोग नभएको बताइन् । ‘राज्यले खेलाडीको लागि पेन्सन र उनीहरुको परिवारलाई जागिरको व्यवस्था गर्नुपर्छ’, उनको जोड थियो ।
सभापति एवं नेका सुनसरी क्षेत्र नम्बर १ का सभापति सुजेन्द्र तामाङ गोलेले नेपाली कांग्रेसले आगामी हुने सम्मेलनको पूर्व सन्ध्यामा भएको विविध कार्यक्रमअन्तर्गत ब्याडमिन्टन प्रतियोगिता राखेको जानकारी दिए ।
व्याडमिन्टन प्रतियोगितामा ५२ जना खेलाडीको सहभागिता थियो । २६ टिमबीच प्रतिस्पर्धा भएकोमा राजकुमार थोप्रा र भुपेन्द्र राईको जोडीले २१–२१ अंक प्राप्त गरेर प्रथम बन्न सफल बन्यो भने सञ्जुहाङ लिम्बू र निरज लिम्बूको जोडीले १६–१४ अंक ल्याएर दोस्रो बन्न सफल भयो । त्यसैगरी खेमशंकर भण्डारी र विकास लिम्बू र सुवर्ण श्रेष्ठ र दीप खड्काको जोडी तेस्रो स्थान ल्याउन सफल बनेको खेलका संयोजक एवं नेपाल व्याडमिन्टन संघका केन्द्रीय उपाध्यक्ष चन्द्र शेखर लामाले जानकारी दिए ।
खेल बिजेता खेलाडीहरुलाई आज सहभागिताको प्रमाणपत्र प्रदान गरिएको धरान नगर सचिव जितेन्द्र रुम्दाली राईले जानकारी दिए । कार्यक्रममा नेपाली कांग्रेस धरान नगर सभापति श्याम पोख्रेल, पूर्व नगर सभापति किशोर राई, तरुण दलका केन्द्रीय सदस्य देवेन्द्र लिम्बू, महासमिति सदस्य अजय राई, सुवास राई, सुनसरी जिल्ला सचिव माधव घिसिङ, सुनसरी क्षेत्र नं. (१) का सभापति अनिल श्रेष्ठ र जिल्ला सदस्य चन्द्र नेपाल समेतको उपस्थिति रहेको थियो ।
तस्वीरः लक्ष्मण थापा






