धरानः आफूखुसी खानेपानी बोर्डको अध्यक्ष बनेको भन्दै धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) विरुद्ध परेको रिटमा उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
धरान खानेपानी व्यवस्थापन बोर्ड व्यवस्थितरूपमा अघि बढाउन नसकेको भन्दै दर्ता भएको रिट निवेदनमा उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
साम्पाङविरुद्ध खानेपानी बोर्डका सदस्य विजय श्रेष्ठ लगायतले उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए । रिट निवेदनमा उच्च अदालत विराटनगरका न्यायाधीशद्वय कृष्णकमल अधिकारी र मुरारीबाबु श्रेष्ठको संयुक्त इजालशले बुधबार अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
आदेशमा भनिएको छ, ‘निवेदन हेर्दा तत्काल बैठक बोलाई कार्यकारी समितिको गठनलाई पूर्णता दिनू, कार्यकारी समितिको बैठक नबसी कुनै पनि नीतिगत निर्णय नगर्नू, नगराउनू, वैधानिक तरिकाबाट अध्यक्षको छनोट नहुँदासम्म कसैले पनि अध्यक्ष लेखी काम कारबाही नगर्नू, नगराउनू भनी अन्तरिम आदेश जारी गरी पाउँ भन्ने माग गरेको देखियो । निवेदकले माग गरेको उल्लेखित विषयमा अन्तरिम आदेश जारी नहुँदा निजलाई अपूरणीय क्षति हुने अवस्था नदेखिएको र विपक्षीको लिखित जवाफ परी अन्तिम सुनुवाइको क्रममा निवेदन माग बमोजिम अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नहुँदा यस अदालतबाट मिति २०८०–२–२६ गते जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु परेन । कानून बमोजिम गर्नू ।’
निवेदकहरूका तर्फबाट अधिवक्ता विनोदकुमार तिमल्सिना, विपक्षीहरूका तर्फबाट उपस्थित अधिवक्ताद्वय रमेश बाँस्तोला, अवइन्द्र निरौला र जेके राई साम्पाङले बहस गरेका थिए । बोर्डका सदस्यहरूले बोर्डलाई व्यवस्थित बनाउन मेयर साम्पाङ्ग र सचिव पोखरेलविरुद्ध गत जेठ २६ गते उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेका थिए । अदालतले जेठ ३२ गते दुवै पक्षलाई छलफलका लागि अदालतमा उपस्थित हुन आदेश दिएको छ ।
अदालतको यो आदेशसँगै मेयर्र साम्पाङले धरान खानेपानी बोर्डको अध्यक्षको हैसियतमा काम गर्ने बाटो खुलेको छ ।