धरानः धरानमा फुटबल खेलाडीको सहयोगार्थ अक्षयकोष स्थापना गरिएको छ ।
शुक्रबार धरानमा आयोजित कार्यक्रममा खेलाडीहरुको हितको लागि पूर्व फुटबल खेलाडी केन्द्र लिम्बूले १ लाख र पूर्व खेलाडी तथा धरान फुटबल क्लबका खेलका टिम कोच सागर घिमिरेले डेढ लाखको अक्षयकोष स्थापनार्थ चेक हस्तान्तरण गरे ।
परिकल्पनाकार पूर्व खेलाडी सागर घिमिरेले खेलाडीले कुनै पनि क्लबको तर्फबाट खेलिरहेको अवस्थामा कुनै दुर्घटना भए वा अन्य केही भएमा कसैले पनि जिम्मेवारी बहन गर्न नसकेकोले यो अक्षयकोष खेलाडीको लागि उपयुक्त हुने बताए । उनले अक्षयकोष कोशी प्रदेशस्तरीय हुने र विस्तार गरेर लैजाने समेत बताए ।
कोशी प्रदेश फुटबल संघका अध्यक्ष एवं एन्फा केन्द्रीय मानार्थ उपाध्यक्ष किशोर राईले धरान फुटबल क्लबको तर्फबाट पनि अक्षयकोष लागि १ लाख दिने प्रतिबद्धता व्यक्त गरे । उनले अक्षयकोष विस्तारका लागि आफूले प्रदेश फुटबल संघ र केन्द्रीय तहसम्म पहल गर्ने बताए ।
सुनसरी जिल्ला फुटबल संघ अध्यक्ष नवीन राईले खेलाडीहरुको यो अक्षयकोषको स्थापनाको काम एकदमै प्रशंसनीय भएको बताए । कार्यक्रममा पूर्व राष्ट्रिय फुटबल खेलाडी प्रकाश बुढाथोकीले नेपालको फुटबल खेलको परिवेशलाई हेर्ने हो भने लाजलाग्दो र खेलाडीको अवस्था दयनीय रहेको बताए ।
अर्का राष्ट्रिय खेलाडी सुरज विश्वकर्माको पनि खेल क्षेत्रमा जीवन बिताइरहँदा राज्यको ध्यान जान नसकेको बताए । छलफल तथा अक्षयकोष स्थापना भएको घोषणा कार्यक्रममा गोधुली क्लब धरान–१७ का महासचिव युवराज अधिकारीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रममा धरान फुटबल क्लबका महासचिव प्रताप तामाङ र सदस्य गोपाल कार्की लगायतको उपस्थिति थियो ।
तस्वीरः लक्ष्मण थापा


