Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका मेयर साम्पाङले सारङ्गीको धुनमा जनता नचाउँदै, वडा वडामा पुग्न थाले, ज्येष्ठ नागरिकका लागि निःशुल्क सेवा दिने अस्पताल जनश्रमदानबाटै बनाउने घोषणा

हाम्रो कोशी आवाज
असार २६ २०८०, मंगलबार
धरानका मेयर साम्पाङले सारङ्गीको धुनमा जनता नचाउँदै, वडा वडामा पुग्न थाले, ज्येष्ठ नागरिकका लागि निःशुल्क सेवा दिने अस्पताल जनश्रमदानबाटै बनाउने घोषणा

धरानः धरान उपमहानगरपालिकाले ज्येष्ठ नागरिकहरुलाई मनोरञ्जन दिलाउन वडा–वडामा पुग्न थालेका छन् ।
धरान–११ र १७ पछि मङ्गलबार धरान–१३ स्थित अमर सेवा समाजका हलमा सो कार्यक्रम भएको हो । सामाजिक विकास महाशाखाको आयोजनामा गन्धर्वसहित पुगेका मेयर साम्पाङले सारङ्गीको धुनसँगै गीत सुनाएर वृद्धवृद्धाहरुलाई खुब मनोरञ्जन दिलाएका छन् । मेयर साम्पाङले आफै गीत गाउँदै, जनतासँगै नाच्दै मनोरञ्जन दिलाए ।
वृद्धवृद्धाहरु हाँसेको, नाचेको देख्दा खुशी लाग्ने बताउँदै मेयर साम्पाङले भने, ‘दुःखी मान्छे कहिल्यै पनि नाच्न सक्दैन, तनावमा हुँदा कहिल्यै पनि नाच्न सक्दैन तर नाचेको बेला जुनसुकै दुःखपीडा पनि भुल्न सकिन्छ, त्यसैले गर्दा तपाईहरु नाचिरहनुपर्छ, धेरै वर्ष बाँचिरहनुपर्छ जस्तो लाग्छ ।’
कार्यक्रमको परिकल्पना मेयर साम्पाङले यस्तो कार्यक्रमका लागि आफ्नै गोजीको पैसा खर्चेका हुन् । कार्यक्रममा झापादेखि आएका कलाकारले गीत आधा दर्जन बढी गीत सारङ्गीको धुनसँगै सुनाएर नचाएका थिए । कार्यक्रममा वृद्धवृद्धाहरुले पनि गीतको भरपुर मनोरञ्जन लिएका साथै औधी मन पराएका थिए । स्थानीय रामबहादुर बस्नेतले पुराना अनि अर्गानिक गीतमा जनता नाचेको देखेर बालापनको याद आएको बताए । कार्यक्रममा यो नेपाली शिर उचाली, आकाशैमालगायत आधा दर्जन बढी गीत सुनाइएको थियो ।
उनीहरुलाई पूर्वाञ्चल गन्धर्व संस्कृति उत्थान समाजले मनोरन्जन दिइरहेको हो । समाजले पूर्व–मेचीदेखि महाकालीसम्म गन्धर्व संस्कृति संरक्षणको लागि अभियान चलाएको र हाल सिन्धुली पुगिसकेको समेत समाजका उपाध्यक्ष रविन गन्र्धवले जानकारी दिए ।
सामाजिक विकास महाशाखाका प्रमुख प्रज्ञादेवी निरौलाले अधिकांश वडामा जनतासमक्ष यसरी नै यो कार्यक्रम लिएर पुग्ने बताए । ‘प्रत्येक वडामा यो कार्यक्रम लगिन्छ’, उनले भनिन्, ‘यसले ज्येष्ठ नागरिकहरुलाई मनोरञ्जन मिल्नेछ र थप उर्जा र उत्प्रेरणा मिल्नेछ भन्ने विश्वास लिएका छौं ।’
ज्येष्ठ नागरिकका लागि निःशुल्क सेवा दिने अस्पताल जनश्रमदानबाटै बनाउने घोषणा
कार्यक्रममा बोल्दै मेयर साम्पाङले जनश्रमदानबाटै ज्येष्ठ नागरिकका लागि निशुल्क उपचार गराउने अस्पताल निर्माण गर्ने घोषणा समेत गरे । ‘हामी धरानमा ज्येष्ठ नागरिकका लागि जनश्रमदानबाटै निःशुल्क उपचार गर्ने खालको अस्पताल बनाउनेछौं, त्यसका लागि आजकै मितिबाट सबैलाई सहयोगका लागि आह्वान समेत गर्दछु ।’

प्रकाशित मिति: असार २६ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend