धरानः नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत चितवनको भरतपुर महानगरपालिका वडा नं। २९ दासढुंगामा बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् ।
काकडभिट्टाबाट काठमाडौं जाँदै गरेको बस दासढुंगानजिक दुर्घटना भएको हो । नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ जुगेडी दासढुंगानजिक बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् ।
प्रदेश ०१–००६ ख ५२३७ नम्बरको बस बिहान ५ बजेर २० मिनेट जाँदा दुर्घटना भएको हो । घाइतेमध्ये १० जनाको पुरानो मेडिकल कलेजमा, आठ जनाको भरतपुर अस्पतालमा र एक जनालाई काठमाडौं पठाइएको चितवन प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बस आफैं अनियन्त्रित भएर सडकबाट १० मिटरजति तल खसेको हो । सडकबाट खसेको बस रूखमा अड्केको थियो । बस त्रिशूली नदीमा खस्नबाट जोगिएको छ । बसमा ४० जना यात्रु थिए ।
बस चालक पनि घाइते भएर उपचाररत छन् । घाइतेहरुमध्ये केहीको अवस्था मध्यम र केहीको सामान्य रहेको प्रहरीले जनाएको छ । बसलाई दुर्घटनास्थलबाट बाहिर निकाल्ने प्रयास भैरहेको प्रहरीले जनाएको छ ।