धरानको सेउती पुलमा गोली प्रहारको घटनाः
धरानः धरानमा गोली प्रहार गरी युवाको हत्या भएको छ । शुक्रबार साँझ करिब साढे ५ बजेतिर विराटनगर–५ का २८ वर्षीय रोहित चौधरीको गोली हानी हत्या भएको प्रहरीले जनाएको छ ।
धरान-तरहरा सडक खण्डको सेउती पुल पारिपट्टि (पानबारी जाने बाटो छेऊ) धरानबाट इटहरीतर्फ जाँदै गरेको को३२प १७९६ नम्बरको पल्सर मोटरसाइकलमा सवार चौधरीमाथि गोली प्रहार भएको पाइएको संघीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीम दाहालले जानकारी दिए ।
गोली लागेर गम्भीर घाइते भएका चौधरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए । उनको दायाँ कोखामुनि गोली लागेको प्रतिष्ठानका चिकित्सकले जानकारी दिएका छन् । गोली प्रहार गर्नुको कारण नखुलेपनि लुटपाट गर्ने उद्देश्यले नै घटना भएको हुनसक्ने उनी बताउँछन् ।
प्रहरीका अनुसार मृतक रोहितसँगै विराटनगर–१ पोखरिया ठूलो मिल बस्ने २५ वर्षीया सुमना खत्री पनि थिइन् । रोहित र सुमना प्रेमीप्रेमिका भएको प्रहरीले जनाएको छ । उनीहरु दुवैजना घुम्नका लागि धनकुटाको तमोर पुगेका थिए । घुमेर घर फर्किदै गर्दा पानी खान भनी सेउती पुलनजिक उनीहरुले मोटरसाइकल रोकेका थिए ।
मोटरसाइकल न्युटलमा राखी स्टेण्ड समेत लगाएर उनीहरु बसेको पाइएको प्रहरीले जनाएको छ । सुमनले दिएको बयान अनुसार शुरुमा सुमनामाथि खुकुरी प्रहार गर्न खोजेपछि रोहितले रोक्न खोजेका थिए, त्यसपछि रोहितको दाहिने कोखमा गोली प्रहार भएको थियो । गोली लागेर ढलेका प्रेमी बेहोस भएपछि हारगुहार माग्दै घाइते अवस्थामा रहेका प्रेमीलाई सुमनाले नै एम्बुलेन्स रोकेर उपचारको लागि बीपी प्रतिष्ठानमा ल्याएकी थिइन् । गोलीको खोका घटनास्थल अर्थात् मोटरसाइकल रोकेको नजिकै फेला परेको थियो ।
यसअघि दुवैजना विराटनगरस्थित नोवेल अस्पतालमा कार्यरत थिए । सुमना मेडिकल रेकर्ड शाखामा काम गर्थिन् भने रोहित आइटी क्षेत्रमा काम गर्थे । उनले त्यहाँ जागिर छोडेर व्यवसाय गर्न थालेको पाइएको प्रहरीले जनाएको छ ।
२ हजार रुपैयाँ बोकेर धनकुटा घुम्न जाने भनी हिँडेका उनीहरुले ८ सयको पेट्रोल हालेको र साथमा पैसा समेत नभएको बयान सुमनाले दिएकी छिन् । सुमनाले लगाएको एकथान सिक्री, एक थान मोबाइल सेट लुटेर तीनजना समूहमा आएका अज्ञात समूह भागेको पाइएको प्रहरीले जनाएको छ । ‘खासमा सुमनाको मात्रै सिक्री र मोबाइल लुटिएको छ’, प्रहरी स्रोतले भन्यो, ‘रोहितको मोबाइल साथमै भेटिएको छ ।’
इलाका प्रहरी कार्यालयका धरानका डिएसपी नवराज मल्लले लुटेरा समूहमध्ये २ जनाले खुकुरी र एकजनाले पेस्तोल बोकेको पाइएको जानकारी दिए । ‘सेउती पुलको बीचबाट जंगलपट्टि मोटरसाइकल रोकेर बसिरहेको अवस्थामा तीनजनाको समूहमा आएका युवाहरूमध्ये एकजनाले गोली प्रहार गरेको खुलेको छ,’ उनले भने, ‘दुईजनाले खुकुरी र एकजनाले पेस्तोल बोकेको पाइएको छ ।’
घटनालगत्तै प्रहरीलाई सुमनालाई सोधपुछ अगाडि बढाएको छ भने घटनामा संलग्नहरुको खोजी कार्य तीब्र बनाएको जनाएको छ । सुमना अहिले मानसिकरुपमा विक्षिप्त छिन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटनास्थल मोटरसाइकल राखिएको स्थाननजिकै भेटिएको गोलीको खोका ।













