धरानः धरान उपमहानगरपालिकाले डेंगु संक्रमण फैलिएसँगै खोज र नष्ट गर अभियानलाई तीब्रता दिएको छ ।
डेंगु नियन्त्रणका लागि भन्दै ‘सर्च एण्ड डिस्ट्रोय’ अभियानलाई नै प्रभावकारी उपायको रूपमा लिएर काम अगाडि बढाइरहेको छ । धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाको टोलीसहित मेयर हर्कराज राई साम्पाङ, उपमेयर अइन्द्रविक्रम बेघा अहिले घरघरमा छिर्दै लार्भा नष्ट गर्ने अभियानमा जुटेका छन् । मेयर साम्पाङ, उपमेयर बेघा, स्वास्थ्यकर्मीसहितको टोलीले धरानको ११, १५, १६ र ४ मा ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान चलाएको छ ।
डेंगुको महामारी फैलिएर नगरबासीको ज्यानसमेत जान थालेपछि उनीहरु खोज र नष्ट गर (सर्च एण्ड डिष्ट्रोय) अभियानमा जुटेका हुन् । मेयर हर्क साम्पाङले धरानका टोल विकास संस्था (टिएलओ) हरुलाई बोलाएर लार्भा खोज र नष्ट गर अभियान चलाउन भनेका थिए । त्यसपछि मेयर, उपमेयर नै अहिले घरघरमा पुगेका हुन् । स्वास्थ्यकर्मीको जम्बो टोलीसहित पुगेका मेयर, उपमेयरले लार्भा नष्ट गर्दै ठाउँको ठाउँ सित्तैमा किट बोकेर डेंगु परीक्षण, सित्तैमा औषधि (सिटामोल, जीवनजल) बाँड्दै हिँडिरहेका छन् । मेयर आफैं पनि जनताको घरघरमा छिरेर जनताको नाडी समेत छाम्दै हिँडिरहेको देख्न सकिन्छ । उनी दिउँसै टर्च लाइट बोकेर लार्भा नष्ट गरेर ‘डेमो’ का रुपमा प्रस्तुत गरिरहेका छन् । मेयर, उपमेयरले लामखुट्टे हुर्कन सक्ने क्षेत्रको सफाइमा हिँडिरहेका छन् ।
धरानका २४० वटै टोल विकास संस्थालाई परिचालन गरेपनि खासै काम हुन नसकेको वडाध्यक्ष, मेयर, उपमेयरले नै बताउँदै आएका छन् । ‘यदि यसपटक पनि प्रभावकारी काम भएन भने टिएलओ नै खारेज पनि गर्न सकिन्छ’, मेयर साम्पाङले प्रश्न गरे, ‘किनभने अस्ति नगरपालिकामा बोलाएर सबै जुटौं भनेको छु तर टिएलओले खासै काम गरेको देखिएको छैन, किन चाहियो त टिएलओ ?’
धरानमा डेंगुले महामारीको रुप लिएको छ । अहिलेसम्म संक्रमित भएसँगै ७ जनाको उपचारका क्रममा ज्यान गइसकेको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सहप्रवक्ता डा. चुरामणि पोखरेलले मंगलबारसम्म डेंगु संक्रमित ७ जनाको मृत्यु भएको बताए । प्रतिष्ठानले डेंगु संक्रमितको उपचारका लागि छुट्टै वार्ड र क्लिनिक सञ्चालन गरिरहेको छ । क्लिनिकमा बिहानदेखि बेलुकासम्म जाँच गराउन आउनेको संख्या दिनप्रतिदिन बढ्दो छ । बीपी मात्रै होइन निजी अस्पतालमा पनि भीडभाड छ ।
धरानमा सबैभन्दा धेरै ११, १३, १५, १६, १७ र १८ वडा प्रभावित भएका छन् । पछिल्लो समय देशभर डेंगु फैलिँदै गएको छ । गत सोमबारदेखि स्वास्थ्यकर्मीसहितको टोली परिचालन गरेर समुदायस्तरमा नै सर्च एण्ड डिष्ट्रोय अभियान शुरु भएको उपमहानगरको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले जानकारी दिए । पानी जमेको ठाउँमा लार्भा भेटिए नष्ट गर्ने र स्थानीयलाई त्यसबारेमा सजग पनि गराउने काम अभियानको क्रममा भइरहेको छ । यस्तै, लक्षण देखिएकालाई तत्काल परीक्षण गर्ने र आवश्यक सुझाव दिने, औषधी पनि दिने काम भइरहेको छ । महाशाखा प्रमुख उमेश मेहताले अहिले किट कम भएकोले अभाव हुनसक्ने समेत बताए । किट महँगो पर्ने भएकोले उपमहानगरपालिकाले डेंगु नियन्त्रण अभियान नै प्रभावकारी बनाउनुपर्ने निष्कर्ष निकालेको छ ।
मेयर साम्पाङले अभियान गरेर मात्रै नहुने यसका लागि जनता नै सजग भएर पानी जम्न नदिन सक्दो सहयोग गर्न आग्रह गरेका छन् । उनले लगातार सरसफाइमा ध्यान नदिँदा सङ्क्रमण दैनिक बढिरहेको बताए । लामखुट्टे रोकथामका लागि तत्काल अभियान थालिएको र अभियानलाई निरन्तरता दिइरहेको उनले बताए ।
डेङ्गी एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य रोग हो । यो लामखुट्टेले सफा पानीमा फुल पार्छ । यसको टोकाइबाट जोगिन घर भित्र र वरपर पानी जम्न नदिन, शरीर ढाक्ने कपडा लगाउन, खाल्डाखुल्डी पुर्न, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्न, खाली भाँडाकुँडा घोप्ट्याएर राख्न तथा सुत्ने बेला झुलको प्रयोग गर्न डाक्टरको सुझाव छ । डाक्टरले आउँदो कात्तिक महिनाको अन्तिमसम्म नै डेङ्गीको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेका छन् ।
तस्वीरहरुः हाम्रो कोशी आवाज



























