Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका सबै विद्यालय बन्द, फुर्सदिला विद्यार्थी लार्भा नष्ट गर्दै घर घरमा पुगे, जनप्रतिनिधि सबै लागे

हाम्रो कोशी आवाज
साउन १७ २०८०, बुधबार
धरानका सबै विद्यालय बन्द, फुर्सदिला विद्यार्थी लार्भा नष्ट गर्दै घर घरमा पुगे, जनप्रतिनिधि सबै लागे

धरानः धरान उपमहानगरपालिकामा डेंगु भाइरस नियन्त्रणका लागि सबै स्कुलको पठनपाठन बन्द गरिएको छ ।
पठनपाठन बन्द भएसँगै फुर्सदिला विद्यार्थी बिहानैदेखि डेगु नियन्त्रणका लागि लागिपरेका छन् । बिहानैदेखि विद्यार्थी घरघरमा पुगेका छन् । विद्यार्थीसँगै शिक्षक, विभिन्न संघसंस्थाका प्रतिनिधि, टिएलओहरु पनि खटे ।
कार्यपालिका बैठकको निर्णयबाट डेंगु नियन्त्रणका लागि अभियान चलाउन विद्यालय बन्द गरिनुका साथै सबै धरानबासी एकसाथ ओर्लिने निर्णय भएको थियो ।
प्रत्येक वडाका जनप्रतिनिधि पनि बुधबार घरघरमा पुगेका छन् । उपमहानगरपालिकाले शिक्षक र विद्यार्थीसँगै सबै वडामा सामाजिक संघसंस्था, टोल विकास समिति, स्थानीय समुदाय एकसाथ आ–आफ्नो वडाको टोलटोलमा खटिन अनुरोध गरेको थियो ।
मेयर हर्कराज राई साम्पाङ, पूर्व मेयर तिलक राई, वडाध्यक्ष प्रविन राई धरान–१८ मै बिहानभरी खटे । कार्यक्रममा बोल्दै मेयर साम्पाङले डेंगु नियन्त्रणका लागि सबै खटेर मात्रै नहुने बताउँदै जनता नै यसका लागि सचेत हुनुपर्ने बताए । लामखुट्टेको फुल, लार्भा र प्युपा नै नष्ट नगरेसम्म डेंगी नियन्त्रण नहुने उनले बताए । उनले प्रत्येक एक दिनमा गमला, पानी ट्याङ्की, टायर, भाँडाकुडामा जम्मा भएको पानी फेरिरहन आग्रह समेत गरे । यस्तै, दिउँसो २ बजेदेखि अन्य वडामा छिर्ने कार्यक्रम रहेको मेयर साम्पाङले जानकारी दिए ।
धरानमा डेंगीबाट हालसम्म आठजनाको मृत्यु भइसकेको छ । निजी क्लिनिक, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतमा डेंगीका बिरामीले चाप छ ।

 

प्रकाशित मिति: साउन १७ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend