धरानः धरान–तरहरा सडक खण्डमा पर्ने सेउती पुलनजिक विराटनगर– ५ का २८ वर्षीय रोहित चौधरीको हत्या आरोपमा पक्राउ परेका दुईजनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा धरानकै युवा समेत छन् । धरान–१४ का ३४ वर्षीय अनसन तामाङ र मोरङको लेटाङ नगरपालिका १ का ३५ वर्षीय पर्वत भन्ने दीपक तिमिल्सिना पक्राउ परेका हुन् । उनीहरुले यसअघि धरानमै पनि यसअघि श्रृङ्खलाबद्ध लुटपाट मच्चाएका थिए ।
गत साउन ५ गते भएको सो घटनाअघि गत असार ८ गते धरान–१७ को खैरेनी जंगलमा १ जना महिलामाथि भएको लुटपाट, असार २३ गते धरानबाट मोटरसाइकलमा प्रकाशपुर गइरहेका श्रीमान–श्रीमतीमाथि प्रकाशपुर जाने क्रममा लुटपाट र असार ३१ गते धरानबाट कालाबन्जार जाँदै गरेका अर्का एक ब्यक्तिलाई समेत उनीहरुले लुटपाट गरेको पाइएको प्रहरीले जनाएको छ ।
२०८० असार ८ गते धरान–१७ खैरेनी जंगलमा लाठी र खुकुरी देखाई महिलाले लगाएका १ तोलाको सुनको सिक्री, आधा तोलाको सुनको मंगलसुत्र, आधा तोलाको सुनको टप, ओप्पो मोबाइल, उनले बोकेको ब्याग र ६ हजार ५ सय रुपैयाँ लुटेका थिए ।
असार २३ गते खैरेनी जंगलबाट श्रीमान श्रीमती धरानबाट प्रकाशपुर जाँदै गर्दा मोटरसाइकलमा रहेका श्रीमान श्रीमतीलाई सो जंगलबाट निस्किएर ५ जनाले खुकुरी देखाएर मोटरसाइल रोकेर दुई तोलाको सिक्री, ५ आनाको टिलसहितको सिक्री, आधा तोलाको सुनको नवरत्न औंठी, १ तोलाको बेरुवा औंठी, ५ आनाको कानमा लगाउने पिन्जडा, ४० हजार रुपैयाँ पर्ने घडी, महिलाको पर्स, ल्यापटप ब्याग, रेनकोट, २ थान मोबाइल र १५ हजार रुपैयाँ लुटेका थिए ।
यस्तै, असार ३१ गते धरान कालाबन्जरा सडकमा धरानबाट कालाबन्जरातर्फ जाँदै गरेका पुरुषलाई खुकुरी र पेस्तोल देखाएर साथमा रहेको ५२ हजार रुपैयाँ र ५ हजारको प्रसुति सम्बन्धी औषधि समेत लुटेर फरार भएका थिए । यस्तै, तीन थान चेकबुक, बच्चाका तीन जोर लुगा, इस्टकोट, ज्याकेट र जग्गाको नक्सा लगायतका अन्य कागजातहरु समेत लुटपाट गरेर भागेका थिए ।
पक्राउ परेकामध्ये दीपक घटनाको मुख्य अभियुक्त हुन् । उनैले रोहितलाई सुनसरी धरान–इटहरी सडक खण्डको सेउती पुल नजिकैको जङ्गलमा साउन ५ गते गोली प्रहार गरेका थिए । होहल्ला गर्दै प्रतिकार गरेपछि रोहितलाई लुटेरा समूह मध्येका मुख्य नाइके दीपकले गोली प्रहार गरेको अनुसन्धानबाट खुलेको घटनाको अनुसन्धान गरिरहेका सङ्घीय प्रहरी कार्यालय धरानका एसपी भीम दाहालले बताए ।
‘खुकुरी गर्धनमा र पेस्तोल छातीमा देखाएर रोहितसँग गएकी युवतीको तीन आनाको सुनको सिक्री, मोबाइल र लेडिज झोला लुटे । त्यसपछि रोहितले होहल्ला गर्दै प्रतिकार गर्न खोजेपछि गोली चलाएको देखिएको छ,’ उनी भन्छन् ।
रोहित र युवती सेउती पुलको जङ्गल छिरेको १० मिनेट भित्रमा लुटपाट गरी गोली हानेर लुटेरा समूह पानमारा जाने जगलै जंगल भागेको पाइएको उनले जानकारी दिए । लुटपाट गरी हत्या गर्ने समूहमा तीन जना रहेको खुलेको छ । अहिले दुई जना पक्राउ परेका छन् । एकजना फरार रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका समूह यसअघि विभिन्न अपराधमा कैद भुक्तान गरी छुटेका अभियुक्त रहेका छन् । पक्राउ परेका दीपक जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद भुक्तान दुई महिना अगाडी छुटेका अभियुक्त हुने भने तामाङ लागुऔषध मुद्दामा ६ महिना कैद भुक्तान गरी २ वर्ष अगाडी छुटेका अभियुक्त हुन् ।
गत साउन ५ गते साँझ विराटनगर महानगरपालिका ५ का २८ वर्षीय रोहितको गोली हानी हत्या भएको थियो । उनीहरुले हत्या तथा लुटपाटमा प्रयोग गरेका सामान समेत प्रहरीले बरामद गरेको छ। एएटा अटोमेटिक चाइनिज पेस्तोल, त्यसको गोली ९ राउण्ड, ५ वटा कालो झोला, महिलाले बोक्ने ब्याग ४ वटा, दुईवटा खुकुरी, बरामद गरेको छ । यस्तै ५ वटा मोबाइल र एउटा औंठी पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृतक रोहितसँगै विराटनगर–१ पोखरिया ठूलो मिल बस्ने २५ वर्षीया युवती पनि थिइन् । रोहित र युवती प्रेमीप्रेमिका भएको प्रहरीले जनाएको छ । उनीहरु दुवैजना घुम्नका लागि धनकुटाको तमोर पुगेका थिए । घुमेर घर फर्किदै गर्दा पानी खान भनी सेउती पुलनजिक उनीहरुले मोटरसाइकल रोकेका थिए ।
मोटरसाइकल न्युटलमा राखी स्टेण्ड समेत लगाएर उनीहरु बसेको पाइएको प्रहरीले जनाएको छ । युवतीमाथि खुकुरी प्रहार गर्न खोजेपछि रोहितले रोक्न खोजेका थिए, त्यसपछि रोहितको दाहिने कोखमा गोली प्रहार भएको थियो । गोली लागेर ढलेका प्रेमी बेहोस भएपछि हारगुहार माग्दै घाइते अवस्थामा रहेका प्रेमीलाई युवतीले नै एम्बुलेन्स रोकेर उपचारको लागि बीपी प्रतिष्ठानमा ल्याएकी थिइन् । गोलीको खोका घटनास्थल अर्थात् मोटरसाइकल रोकेको नजिकै फेला परेको थियो ।
प्रहरीका अनुसार मोटरसाइकल रोकेर रोहित र युवती पुल नजिकै बसिरहेका थिए । पैदल आएका तीनजनाले सुरुमा युवतीलाई पक्रिए । त्यसपछि अर्का युवाले रोहितलाई पक्रिएर पेटमा पेस्तोल ताके । नजिकै युवतीको घाँटीमा खुकुरी ताकेर लुटपाट गर्न थाले । उनका गहना निकाल्न थाले । त्यसपछि रोहीतले प्रतिकार गर्न खोज्दा गोली प्रहार गरेका थिए । गोली प्रहारपछि रोहित त्यहीँ ढले । युवतीको गहना लुटपाट गरेर उनीहरु जंगलतर्फ भागे । हत्यापछि उनीहरू झापा, इटहरी, विराटनगरलगायतका बजारमा ओहोर–दोहोर गरेका थिए । लुटपाट गरिएका सुनका गरगहना बिक्री गर्न उनीहरू दौडिएको हुन सक्ने प्रहरीको अनुमान छ । उनीहरूले लुटपाटकै रकमले ४० हजारमा भारतको जोगिनीमा गएर पेस्तोल किनेको खुलेको छ । लुटपाट गरेका सामान भारतमा लगेर बेच्ने र भारतबाटै एक महिना अगाडि पेस्तोल किनेको देखिएको प्रहरीले जनाएको छ । लुटपाटट गर्ने उनीहरूको तीन वटा समूह रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।














