धरानः धरानस्थित सेउतीखोला नजिकैको जङ्गलमा भएको हत्याको घटनामा जोडिएका थप एकजना पक्राउ परेका छन् ।
यसअघि पक्राउ परेका व्यक्तिहरुले पोल खोलेपछि धरानका ज्याङ्लो भन्ने २७ वर्षीय युनेश राई पक्राउ परेका हुन् । धरान–४ निवासी उनी धरान उपमहानगरपालिकाको वारुण यन्त्र शाखामा कार्यरत रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका अन्य व्यक्तिले उनले नै घरमा पेस्तोलमा प्रयोग हुने गोली राखिदिने भनेर पोल खोलेपछि उनको घरको कोठामा खानतलासी गर्दा ७.६५ एमएमको ८ थान गोली पनि बरामद गरेको प्रहरीले जनाएको छ । खानतलासी गर्ने क्रममा लेडिज ब्यागभित्र पोको पारी लुकाइ राखेको गोली बरामद भएसँगै उनलाई शनिबार धरानबाटै पक्राउ गरिएको कोशी प्रदेश कार्यालय विराटनगरका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए ।
विराटनगरका २८ वर्षीय रोहित चौधरीको हत्या प्रकरणमा प्रहरीले हालसम्म ६ जनालाई पक्राउ गरिसकेको संघीय प्रहरी कार्यालय धरानका एसपी भीम दाहालले जानकारी दिए । गत साउन ५ गते सेउती पुलनजिकको सडकमा पानी खान रोकिएका चौधरीलाई लुटेरा समूहले गोली प्रहार गरी हत्या गरेको थियो । उनीहरुले मोटरसाइकल रोकेर सेउती पुलनजिक बसेको अवस्थामा लुटेराहरुले युवतीले लगाएको सिक्री मोबाइल र पैसा लुटेका थिए ।
यसअघि धरान–१४ का ३४ वर्षीय अनसन तामाङ र मोरङको लेटाङ नगरपालिका १ का ३५ वर्षीय पर्वत भन्ने दीपक तिमिल्सिना पक्राउ परिसकेका छन् । गत साउन ५ गते साँझ विराटनगर महानगरपालिका ५ का २८ वर्षीय रोहितको गोली हानी हत्या भएको थियो । उनीहरूले लुटपाटकै रकमले ४० हजारमा भारतको जोगिनीमा गएर पेस्तोल किनेको खुलेको थियो ।
प्रहरी अनुसन्धानका क्रममा हालसम्म तामाङसहित घटनाका मुख्य नाइके लेटाङका दीपक तिम्सिना, धरानका अनशन तामाङ, प्रकाश लिम्बू, र विराटनगरका अजय शर्मा पक्राउ परिसकेका छन् । बिहीबार पक्राउ परेका ४१ वर्षीय अजय शर्माले लुटेरा समूहका नाइके तिम्सिनालाई पेस्तोल उपलब्ध गराएको प्रहरीको भनाइ छ ।
प्रहरीले बिहीबार सार्वजनिक गरेका तिम्सिना र तामाङको साथबाट हत्यामा प्रयोग गरिएको सेमी अटोमोटिक पेस्तोल, ९ राउन्ड गोली, दुई थान म्यागजिन, पाँचवटा कालो झोला, चारवटा ‘लेडिज ब्याग’, दुईवटा खुकुरी, पाँचवटा मोबाइल, औंठी र गोलीको खोका बरामद गरेको थियो ।
साउन ५ गते बेलुका ५ः१५ बजेतिर इटहरी उपमहानगरपालिका २० सेउती पुल नजिकको जङ्गलमा रोहित चौधरी र उनीसँगै रहेकी युवतीलाई लुटपाट गरेका थिए । लुटपाट गर्ने क्रममा रोहितले प्रतिकार गरेपछि लुटेरा समूहले उनलाई गोली हानेका थिए । घाइते भएका रोहितको सोही दिन बीपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।
यो घटना अनुसन्धान तथा प्रतिवादी पक्राउका लागि कोशी प्रदेश प्रहरी कार्यालय, संघीय प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय इटहरीबाट संयुक्त टोली परिचालन गरिएको छ ।














