धरानः भोलिदेखि केही दिन मनसुन थप सक्रिय हुने मौसमविद्को अनुमान छ । यसले गर्दा भोलि बेलुकापछि केही ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेको छ ।
मौसमविद् राजु प्रधानाङ्गका अनुसार मनसुनको न्यून चापीय रेखा नेपाल नजिकै छ । यसका साथै भारतको बिहारको उत्तर पश्चिम क्षेत्र तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभावसमेत परेको छ ।
भोलिदेखि थप सक्रिय हुने सम्भावना रहेकाले बाढी पहिरोको जोखिम बढेको उनले बताए ।
मनसुनको न्यून चापीय रेखा (वर्षा गराउने प्रणाली) नेपालको थप नजिक आउने र शनिबारदेखि वर्षाको मात्रा थप बढ्ने सम्भावना देखिएको उनले बताए ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार केही दिनदेखि न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तर अर्थात् नेपाल नजिक नै छ। ‘भोलि (शनिबार) बाट थप नेपालनजिक हुने र वर्षा अरू बढ्ने सम्भावना देखिएको छ’, उनले भनिन्।
मौसमविद्का अनुसार मनसुनको न्यून चापीय रेखा जति नजिक भयाे, उति वर्षा बढ्छ भने टाढा हुँदा घट्छ।