धरानः धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङका समर्थक रमेश बान्तवा राई रिहा भएका छन् ।
सामाजिक सञ्जाल प्रयोग गरी गालीगलौज गरेको आरोपमा पक्राउ परेका उनी सोमबार रिहा भएका हुन् । धरान–५ देउराली स्थित उनको घरबाट आइतबार साँझ पक्राउ परेका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार राईले अनुसन्धान गर्ने क्रममा उनलाई सोधपुछका लागि बोलाइएको बताउँदै भने, ‘खासै त्यस्तो त केही देखिएन, ठकुरी थरका व्यक्तिले पोष्ट गरेको कुराहरु शेयर गरेको पाइयो, ती ठकुरी थरका व्यक्तिको आइडी पनि उनैले बनाएका हुन् कि भनेर अनुसन्धानका लागि बोलाएका हौं ।’
उनका अनुसार ठकुरी थरका एक व्यक्तिले गालीगौलज गर्दै अश्लील तस्वीर समेत पठाएपछि धरान–४ छोटी मोरङ जग्गा पीडित संघर्ष समितिले पत्रकार सम्मेलनलाई लिएर संघर्ष समितिका सदस्य पर्वत राईलाई उनीमाथि पनि उजुरी दर्ता गराएका थिए । जग्गा पीडित राईले गत साउन १५ गते साइबर क्राइमअन्तर्गत जिल्ला प्रहरी कार्यालय सुनसरीमा उजुरी दर्ता गराएका थिए । सोही मुद्दामा जिल्ला कार्यालय साइबर ब्यूरोको टोलीले साइबर अपराधमा राईलाई पक्राउ गरेको थियो ।
यसैबीच सोमबार नै धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङ जिल्ला प्रहरी कार्यालयमा पुगेका थिए । मेयर साम्पाङले रमेशले साँच्चै अश्लील फोटो पठाउने गरेको पाइए कारवाही हुनुपर्ने समेत बताएका थिए ।
पक्राउ परेका राईले भने आफू निर्दोष रहेको बताए । ‘मैले जानअन्जान शेयर गरेकै हो, म निर्दोष छु’, उनले भने, ‘अब यसबारेमा म पनि सचेत छु ।’