धरानः धरानको युएन, नवोदय कलेजले कक्षा-११ मा अध्ययनरत होटल म्यानेजमेन्टका विद्यार्थीहरुलाई झापाको धुलाबारीस्थित प्रदेश नं. १ कै एक मात्र फाइभ स्टार होटल मेची क्राउनमा अभिमुखीकरण सम्पन्न गरेको छ ।
मेची क्राउनको सगरमाथा हलमा एक विशेष कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई होटल म्यानेजमेन्टको बारेमा जानकारी गराइएको हो । क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोले नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्दै कडा मेहनतका साथ अध्ययन गरी अभिभावक र कलेजको नाम राख्न आग्रह गरे । विद्यार्थीहरुलाई होटल म्यानेजमेन्टको क्षेत्रमा करियर बनाउनको लागि गन्तव्य पहिल्याउन सजिलो होस् भन्ने उद्देश्यले पाँच तारे होटलको अवलोकन गराइएको क्याम्पस प्रमुख तुम्बापोले बताए । उनले भने, ‘अवलोकन गरेपछि पाँचतारे होटल कस्तो हुँदोरहेछ, सिस्टम कसरी सञ्चालन हुँदोरहेछ भन्ने ज्ञान विद्यार्थीलाई भएको छ जसले गर्दा विद्यार्थीहरु उत्साहित भएका छन् ।’
कलेजका म्यानेजिङ डाइरेक्टर ज्ञानेश्वर झाले सफलता सजिलै हात नलाग्ने हुँदा अहिलेदेखि नै कडा मिहिनेतका साथ अध्ययन गर्न विद्यार्थीहरुलाई सुझाए । अर्को प्रसङ्गमा झाले युएन, नवोदय हस्पिटालिटी इडष्ट्रीको पर्याय भएको समेत बताए ।
कलेजका होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगनमान श्रेष्ठले कक्षामा पढाइएको सैद्धान्तिक कुरालाई स्टार होटलमा ल्याएर प्रत्यक्ष अवलोकन गराउँदा विद्यार्थीहरुले स्पष्ट बुझेको बताए । फुड एन्ड बिभरेज म्यानेजर अनुपजङ डाँगीले विद्यार्थीहरुलाई होटलको परिभाषाका साथै होटल मेची क्राउअनको विभिन्न विभागको बारेमा जानकारी गराए ।
आफूले पहिलोपटक फाइभ स्टार होटल भिजिट गरी अवलोकन गरेर धेरै कुरा जान्न पाएको भन्दै कक्षा–११ होटल म्यानेजमेन्टकी छात्रा नुयाङ राईले खुशी ब्यक्त गरिन् ।
त्यस्तै, कक्षा–११ कै अर्का छात्र अमृता राईले फाइभ स्टार होटल हुनको लागि के के हुनुर्छ भन्नेबारे थाहा पाउनुका साथै अन्य धेरै कुराको जानकारी पाएको बताइन् । अवलोकन भ्रमणमा कलेजका अध्यापकहरु राम लिम्बू, नाम्लिङहाङ चेम्जोङ, अनिमेष बाँस्तोला, सिर्जना लिम्बू लगायतको सहभागिता थियो । अवलोकन भ्रमणमा कक्षा–११ होटल म्यानेजमेन्टका १ सय ५७ जना विद्यार्थीहरु रहेको कलेजले जनाएको छ ।









