धरानः गत स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएर धरान उपमहानगरपालिकाको वडा नं. ६ को अध्यक्षमा निर्वाचित भएका भुपेन्द्र भट्टराई राप्रपामा प्रवेश गरेका छन् । २०७९ वैशाखमा भएको स्थानीय तह चुनावमा भट्टराई स्वतन्त्र उम्मेदवार भई वडाध्यक्ष निर्वाचित भएका थिए ।
उनलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले धरानमा भट्टराईलाइ पार्टीको सदस्यता प्रदान गरेका हुन् । धरानको मेयरमा पनि स्वतन्त्र उम्मेदवार भएर हर्क साम्पाङ विजयी भएका छन् ।
भूगोल केन्द्रीत जिम्मेवारीका लागि धरान पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बिहीबार धरान पानमारामा आयोजित कार्यक्रममा भट्टराईलाई पार्टीको सदस्यता प्रदान गरी स्वागत गरेका हुन् । भट्टराई गत स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार भई वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए ।
त्यसअवसरमा धरान–६ का अगुवा कार्यकर्तालाई शुभकामनासहित सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले पार्टीले देशका सबै स्थानीय तहमा केन्द्रीय नेताहरुलाई भूगोल केन्द्रीत जिम्मेवारीमा खटाएको र आफूले धरान छनौट गरेको बताए ।
राप्रपाले नेताहरूलाई स्थानीय तह केन्द्रित गरी संगठन सुदृढीकरण लगायतका काममा खटाएको थियो । अध्यक्ष लिङ्देन धरानमा खटिएका थिए ।
भट्टराई बिहीबारदेखि औपचारिक रूपमै राप्रपामा प्रवेश गरेको जानकारी लिङ्देनले दिएका छन् । २०७८ मा भएको स्थानीय तह निर्वाचनमा धरान वडा नम्बर ६ मा भट्टराई स्वतन्त्रतर्फबाट विजयी भएका थिए । भट्टराईले १ हजार ८ सय २० मत प्राप्त गरेर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरि राईले १ हजार ३ सय २८ मत ल्याएका थिए ।
स्वतन्त्रबाट चुनाव लड्नुअघि उनी कांग्रेसमा थिए । कांग्रेसबाट विद्रोह गरी उनी स्वतन्त्रबाट चुनाव लडेका थिए ।