धरानः धरान-१२ स्थित सुनाखरी एकेडेमीले विद्यार्थीले खेलकुद विधामा जितेपछि सम्मान गरेको छ ।
स्कुल प्राङ्गणमा आयोजित कार्यक्रममा खेलकुदको विधामा विद्यार्थीले मेडल साथै प्रमाणपत्र हात पार्न सफल भएपछि सम्मान कार्यक्रमको आयोजना गरिएको छ ।
सबै विद्यार्थीको उपस्थितिमा विद्यार्थीलाई सम्मान गरिएको थियो । कराते विधामा कक्षा–१२ का उज्ज्वल राईले १ स्वर्ण १ रजत पदक, कक्षा–१० की वर्षा राईले १ स्वर्ण पदक, कक्षा–५ का स्तुम राईले १ स्वर्ण पदक, कक्षा–४ का सुमित दर्जीले १ स्वर्ण पदक, कक्षा–७ की मेडिया लिम्बूले १ कास्य पदक हात पार्न सफल भएको स्कुलका प्रिन्सिपल मिलनकुमार राईले जानकारी दिए । ९ औं इण्डो–नेपाल कराते च्याम्पियनसीप–२०२३ को प्रतियोगिता झापाको काडभिट्टामा गत भाद्र १६ र १७ गते सम्पन्न भएको थियो ।
एकेडेमीका प्रिन्सिपल मिलनकुमार राई, डाइरेक्टर प्रदीप राई, प्लस टु कोअर्डिनेटर टपकुमार राईलगायत अध्यापकहरुले उनीहरुलाई अविर, खदाले सम्मान गरेका थिए ।
विद्यालयका अधिकांश विद्यार्थीलाई हौसला प्रदान होस् भनेर विद्यार्थीले जितेपछि सम्मानको कार्यक्रम राख्दै आएको प्रिन्सिपल राईले जानकारी दिए ।
प्रिन्सिपल राईका अनुसार पढाइमा विशेष जोड दिँदै खेलकुदलगायत अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थी खरो उत्रिँदै आएको बताए । उनले विद्यार्थीले स्थानीय, प्रदेश र राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा सामेल भएर जित्दै आएको बताए ।












