धरानः धरान-११ स्थित ज्ञानकुञ्ज रेसिडेन्सियल स्कुलमा कृष्ण जन्माष्टमी पर्व मनाइएको छ ।
वैदिक सनातन धर्मावलम्बीहरुको महान् पर्व ‘श्रीकृष्णजन्माष्टमी’ को अवसरमा स्कुलले पनि विविध कार्यक्रमका साथ मनाएको छ । स्कुलले बिहीबार विद्यार्थीहरुलाई कृष्ण र राधा तथा गोपिनीहरुको पहिरन लगाएर राधाकृष्णसँग सम्बन्धित भजनहरु प्रस्तुत गर्दै नाचगानसहित पर्व मनाएको हो ।
नेपाली कला, संस्कृति रितिरिवाज, धर्म विस्तारै नयाँ पुस्ताले बिर्सिदै जान लागेको यो अवस्थामा विद्यार्थीहरुलाई पनि आफ्नो मौलिक कला, संस्कृति, धर्म, चाडपर्वको बारेमा जानकारी दिने र मनाउने तरिका सिकाउने उद्देश्यले यस्ता खाले पर्व दिवसको अवसरमा विशेष कार्यक्रम गर्दै आएको विद्यालयका प्रिन्सिपल अरुण राईले बताए ।
विद्यार्थीहरुलाई किताबी ज्ञान मात्र प्रदान गर्ने होइन घरायसी वातावरणमा नयाँ जोश जाँगर, हौसलाका साथ पठनपाठनमा केन्द्रित गराउनकै लागि तथा सामाजिक मूल्य मान्यता र नैतिक पाठ सिकाउनका लागि यस्तो पर्व विशेष कार्यक्रमले महत्वपूर्ण टेवा पुग्ने उनको भनाइ छ ।


