Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा हिरा रिजालको ‘म बाँस हुँ’ कविता संग्रह विमोचन

हाम्रो कोशी आवाज
असोज ४ २०८०, बिहिबार
धरानमा हिरा रिजालको ‘म बाँस हुँ’ कविता संग्रह विमोचन

धरानः धरानमा हिरा रिजालद्वारा लिखित ‘म बाँस हुँ’ नामक कविता संग्रह विमोचन भएको छ ।
बुधबार धरान–१२ को पव्लिक हाइस्कुलको सभाहलमा एक समारोहबीच सो कविता संग्रहको विमोचन गरिएको थियो । प्रमुख अतिथि धरानका पूर्व प्रधानपञ्च तथा कवि बम देवान, १०० वर्ष पूरा भएका शताब्दी पुरुष नरबहादुर लिम्बू, प्राध्यापक हरिबहादुर विष्ट, परिचर्चाकार उपप्राध्यापक राजेश विद्रोही, प्रा.डा. राजेन्द्र शर्माले सो संग्रहको सामूहिकरुपमा विमोचन गरेका थिए ।
लेख लेख्ने क्रममा देशको समसमायिक राजनीतिक अन्यौलको परिस्थितिले आफूलाई कविता लेख्न बाध्य बनाएको कवि हिरा रिजालले बताए । आफूले शुरुमा आफ्ना रचनाहरु फेसबुकमार्फत् सम्प्रेषण गर्दा धेरैले मन पराएको र साथीहरुले कविता लेख्न प्रोत्साहन गरेपछि यो कविता संग्रह प्रकाशन गर्न सफल भएको रिजालले बताए । कोशी साहित्य चौतारी धरान सुनसरीले प्रकाशन गरेको सो कविता संग्रहमा ८३ वटा कविताहरु समेटिएको छ ।
२००५ सालमा परेवादिन, हाल छथर जोरपाटी धनकुटामा जन्मिएका रिजालको माता महादेवी रिजाल र पिता कालीप्रसाद रिजाल र श्रीमति शुशीला रिजाल हुन् । धरान–१२ मा स्थायी घर भएका उनी मनमोहन अधिकारी स्मृति संस्था धरानको अध्यक्ष छन् ।
कविता संग्रहमाथि समलोचना महेन्द्र बहुमुखी क्याम्पसका उपप्रध्यापक राजेश विद्रोहीले कविता संग्रहमा राजनैतिक, सामाजिक, सांस्कृति, पारिवारिक विकृति र विसंगतिलाई औल्याउँदै सही मार्ग निर्देशन गर्ने प्रयास गरेको बताए । धेरै सन्देश छोटो कवितामा समेट्न सक्नु कविको मुख्य खुबी रहेको पनि विद्रोहीले औंल्याएका थिए ।
विद्यार्थी अवस्थादेखि सामाजिक राजनीतिक अभियानमा जुझारु रहेको कवि रिजालले ७५ वर्षको उमेर कविता संग्रह प्रकाशन गरेर जेष्ठ नागरिकले पनि सृजना गर्न सक्छन् भन्ने कुरा प्रमाणित गरिदिएको जेष्ठ नागरिक सञ्जाल धरानका अध्यक्ष प्राध्यापक हरिबहादुर विष्टले बताए । रिजाल महेन्द्र बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको २०२५–२६ सालमा सभापति भएको र २०२९–३० सालमा कलेज बचाऊ समितिको महासचिव भएर काम गरेको र कवि रिजाल २०४७ देखि ५० सम्म नयाँ परिवर्तन साप्ताहिकका सम्पादक भएको विष्टले जानकारी गराएका थिए ।
कार्यक्रममा जेष्ठ नागरिक नगर सञ्जालका अध्यक्ष विष्ट र शिक्षासेवी मोहन श्रेष्ठले खदाले सम्मान गरेका थिए । प्रमुख अतिथि कवि देवानले कविको कविता उच्च स्तरको देशको राजनीति र समाजलाई सुधार्न सन्देश दिएको कुरा व्यक्त गरेका थिए । साथै लेखन कार्यलाई निरन्तरता दिन कविलाई शुभकामना व्यक्त गरेका थिए । कविता संग्रह माथि कवि भीष्म काफ्ले लगायतले परिचर्चा गरेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रका सामाजिक, राजनैतिक व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन प्रा.डा. राजेन्द्र शर्माले गरेका थिए ।

प्रकाशित मिति: असोज ४ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend