धरानः धरानस्थित तीनकुने–तरहरा सडक खण्डमा पर्ने डिभाइडरमा फूलका विरुवा साथै सिरिसका विरुवा रोप्न थालिएको छ । धरान प्रवेश गर्ने मुख्य नाका तीनकुनेदेखि सेउती पुलसम्मसम्मको सडक आकर्षक बनाउन बीचमा रङ्गीन फूलका बोट, सिरिसका विरुवाहरु रोपिएका हुन् । केही समयअघि मात्रै सम्पन्न भएको आकर्षक सडकको बीच भागमा रोपिएका फूलले आकर्षक हुने विश्वास लिइएको छ ।
धरान मुस्लिम एकता समाजको अगुवाईमा एक सय वटा विरुवा रोपिएको हो । त्यहाँ लगाइएको सिरिसका विरुवा ४ महिनादेखि फुल्न थाल्ने र बाह्रै महिना फुल्ने जनाइएको छ ।
मेयर हर्कराज राई साम्पाङको प्रमुख आतिथ्यमा हाइब्रिट शिरिषको विरुवा वृक्षारोपण कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै शिरिषको बीच बीचमा सयपत्री फुल पनि रोप्ने बताए । कार्यक्रममा वरिष्ठ डाक्टर खालिद हुसैन हक, मुस्लिम समाजका प्रतिनिधिहरुको समेत उपस्थिति थियो ।
यसअघि स्व. मातापिता र दिदीको स्मृतिमा धरान–३ की चन्दा राईले आफ्नो खर्चमा फूलका विरुवा रोपेकी थिइन् । तीनकुनेदेखि करिब एक किलोमिटर तल विश्वकर्मा मन्दिरसम्म २३२ वटा फूलका विरुवा रोपिएको उनले जानकारी दिइन् ।
बगानबेली, सन्डेमन्डे फूलको विरुवा हुर्किएर फुल्न थालेपछि धरान प्रवेश गर्ने नाका आसपासमा सो दृश्यले मन लोभ्याउने उनको भनाइ छ । सो फूल रोप्न स्थानीयबासीले श्रमदानसमेत गरेका छन् । दिवङ्गत मातापिता नरबहादुर राई, देवीमाया राई र दिदी पन्ना राईको स्मृतिमा फूलका बोटहरु रोपिएको उनले जानकारी दिइन् । सडकको बीचमा फूलका बोटहरु रोप्न सडक डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालय र धरान उपमहानगरपालिकासँग अनुमति लिएर सो कार्य गरिएको उनले जानकारी दिइन् ।
धरान उपमहानगरपालिकाले यसपटक २८ सय बढी झुल विपन्न परिवारलाई बाँडेको छ । मेयर साम्पाङले करिब दुई महिनादेखि थालेको डेंगुविरुद्ध सर्च एण्ड डिष्ट्रोय अभियानसँगै विपन्न जनतालाई झुल बाँड्ने कार्यक्रम राखिएको थियो । २८ सय बढी झुल वितरण गरिसकिएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । झुल पाएपछि विपन्न परिवारले खुशी व्यक्त समेत गरेका छन् ।