धरानः ४४ औ विश्व पर्यटन दिवसको अवसरमा धरानको पर्यटनमा चुनौती र सम्भाव्यताबारे चर्चा र विमर्श भएको छ ।
‘टुरिजम एण्ड ग्रीन इन्भेष्टमेन्ट’ नारासहित २७ सेप्टेम्बर बुधबार विश्वभर ४४ औ विश्व पर्यटन दिवस मनाइँरहदा धरानमा पनि धरान होटेल व्यावसायी समितिले भानुचोक घण्टाघर परिसरभित्र होटेल हेन्टरप्रेनसज एशोशियशन अफ धरान वल्र्ड टुरिजम डे लेखिएको ब्यानरसहित बेलुनलाई आकाशमा उडाएर औपचारिक कार्यक्रम शुरु गरेका थिए ।
कार्यक्रममा बोल्दै धरान वडा नम्बर–२ का वडाध्यक्ष रमेश राईले हामीले बोल्ने भन्दा पनि वास्तविक व्यावहारिकपक्षको रुपमा धरानमा पर्यटन कसरी भित्रयाउन सकिन्छ भन्नेतर्फ लाग्न जरुरी रहेको बताए । उनले धरानमा रात्रीकालिन होटल चलाउन वातावरण बनाउन जरुरी भएको यसमा सबैपक्ष लागि पर्नुपर्ने अध्यक्ष राईले बताए ।
नेपाल पर्यटनबोर्ड केन्द्रका कार्यकारी सदस्य कृष्ण शाहले टुरिजम एण्ड ग्रीन इन्भेष्टमेन्टको अर्थबारे प्रष्टयाएका थिए । उनले नेपालमा आउने पर्यटकहरुको औसत ११ दिन बसेको तथ्यांक छ भने धरानमा आउने पर्यटकहरु कति दिन बस्छन् भन्ने तथ्यांक न नगरपालिकासँग छ, न कुनै निकायसँग नै रहेको भन्दै उनले गुनासो पोखे । धरानमा अहिले सुरक्षा नदेखिएको र आन्तरिक झगडा, कलह आदिको कारण स्वेदेशी र विदेशी पर्यटकहरु आउन छोडेको उनको भनाइ छ । ‘अन्यतिर पर्यटक धेरै राम्रो छ भनेर हल्लाले आउँछन् तर यहाँ विभिन्न प्रकारका आन्तरिक झगडा आदिको हल्लाले पर्यटक आउन सकेका छैनन् । उनका अनुसार अहिले धरानका होटल प्रायशुन्य छन् ।
कार्यक्रममा प्रमुख अतिथि एवं सुनसरी क्षेत्र नम्बर – १ कबाट निर्वाचित प्रदेश सांसद रमेश बस्नेतले धरान धार्मिक, शैक्षिक, स्वास्थ्य, पर्यावरणीय, सफा सुग्घर रहेको बताए । उनले यसलाई संस्थागतरुपमा लानुपर्ने बताए । यसका लागि पूर्वाधारको रुपमा विकास गर्न स्थानीय सरकार, होटेल व्यावसायी, प्रदेश सरकार अन्य सबैपक्षहरु एकीकृत भएर लागेको खण्डमा पर्यटन प्रवद्र्धनको विकास सम्भव हुने उनको भनाइ थियो ।
कार्यक्रमको अध्यक्षता एवं धरान नगरपालिकाका पूर्व नगर प्रमुख तथा होटेल व्यावसायी समिति धरानका अध्यक्ष मनोजकुमार मेन्याङ्बोले धरान पर्यटनको हिसाबले राम्रो भएपनि अहिले धरानको पर्यटन अत्यन्तै जर्जर, खस्किदो र एकदमै चिन्ताजनक रहेको बताए । उनले धरानमा धार्मिक, जातीय र सांस्कृतिक हिसाबले विविधतामा एकता शहरको रुपमा रहिरहेको अवस्थामा केही समयदेखि धरानलाई बदनाम गराइएको बताए ।
पर्यटन दिवसमा धरानका होटल व्यावसायी गोपाल आचार्य, प्रमेश श्रेष्ठ, भुपाल राई, कृष्ण पाठक, रविन अधिकारी, नारायणप्रसाद लिम्बू लयायतको उपस्थिति रहेको थियो ।
तस्वीरः लक्ष्मण थापा
